धुलिखेल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेमा ४२ उम्मेद्वारले उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १५ दल र ३ स्वतन्त्र ३ गरी १८ तथा निर्वाचन क्षेत्र नम्बर २ मा १६ दल, ८ स्वतन्त्र गरी २४ जनाको उम्मेद्वारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये क्षेत्र नम्बर २ मा दुईवटा दल र एक जना स्वतन्त्र गरी ३ जना महिला उम्मेद्वार छन् ।

क्षेत्र नम्बर १ मा अन्य समूहबाट एक जनाले उम्मेद्वारी दिएका छन् । यो पटक पनि दलित उम्मेद्वार प्रतिस्पर्धामा छैनन भने जनजातीतर्फ २५ जना उम्मेद्वार रहेका छन् । जिल्लाका दुवै क्षेत्रमा स्वतन्त्र उम्मेद्वार ११ जना छन् । निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट अमित लामा, नेपाली कांग्रेसबाट गुणराज मोक्तान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईंले उम्मेद्वारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ तथा नेशनल रिपब्लिक नेपालबाट भरत तामाङले उम्मेद्वारी दर्ता गराएका छन् । यहाँ प्रगतिशील लोकतान्तित्रक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै राजेश श्रेष्ठ, युवराज चौलागार्इं र जीवन लामाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाईजेशनबाट कमलबहादुर लामा, समावेसी समाजवादी पार्टीबाट विनोद लामा (अन्य) ले उम्मेद्वारी दर्ता गराएका हुन् । जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा र नेकपा माओवादी विप्लव समूहबाट कान्छा तामाङको उम्मेद्वारी दर्ता भएको छ ।

यता क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट अशोक ब्याञ्जु, नेपाली कांग्रेसबाट मुध आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाईं र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारीले उम्मेद्वारी दिएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जिव श्रेष्ठ, उज्यालो नेपालबाट ज्योत्सना सैंजु, नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेशनल रिपब्लिक नेपालबाट सुकमान तामाङको उम्मेद्वारी परेको छ भने राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनबाट उमेश तामाङले उम्मेद्वारी दर्ता गराएको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टंकबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रमेशबहादुर घर्ति क्षेत्री र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै यहाँ आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ र सीताराम मैनालीले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

उम्मेद्वारलाई चुनाव चिन्ह वितरण
प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका काभ्रेका उम्मेद्वारहरूलाई शुक्रबार चुनाव चिन्ह प्रदान गरिएको छ ।

राजनीतिक दलका उम्मेद्वारले आफ्नै दलको चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्र उम्मेद्वारलाई उनीहरूले रोजेको चिन्ह दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले जनाएको छ । स्वतन्त्र उम्मेद्वारका चुनाव चिन्ह प्रेसर कुकरदेखि खसीको टाउकोसम्म रहेका छन् ।

काभ्रेमा क्षेत्र नं १ मा ३ र क्षेत्र नं २ मा ८ जना स्वतन्त्र उम्मेद्वार रहेका छन् । जिल्लामा कसैले पनि उम्मेद्वारी फिर्ता नलिएको पनि कार्यालयले जनाएको छ । काभ्रे क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं २ मा २४ जनाले उम्मेद्वारी दिएका छन् ।

क्षेत्र नं १ का स्वतन्त्र उम्मेद्वार जीवन लामाले क्याप, युवराज चौलागाइँले ड्रम सेट र राजेशकुमार श्रेष्ठले आँखीझ्याल चुनाव चिन्ह पाएका छन् । उता क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेद्वार आशा तामाङले भँगेरा, केशवराज तिमल्सिनाले आँप, उमेश थापाले ठेकी, लेनिन विष्टले कप र प्लेट, विष्णुकुमार श्रेष्ठले प्रेसर कुकर, सीताराम मैनालीले खसीको टाउको, गणेशप्रसाद अधिकारीले आँखीझ्याल र डिल्लीप्रसाद न्यौपानेले मसी चिन्ह पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *