यसअघिको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस । जो अहिले आन्तरिक विवादमा नराम्ररी फसेको छ ।
पार्टी ठूलो छ, इतिहास ठूलो पनि छ । चार जनाको परिवारमा त सबैको मत मिल्दैन र चित्त बुझाउन सकिँदैन भने देशभर करिब ८ लाख क्रियाशील सदस्य रहेको पार्टीमा कहिलेकाहिँ वादविवाद हुनु सामान्य नै हो । तर यहाँ असामान्य के भयो भने अब कांग्रेस करिब करिब टुक्रियो तर पनि दुवै पक्ष कांग्रेस एक छ, चुनावमा बहुमत ल्याउँछ भन्दै आइरहेका छन् ।
अर्को कुरा पार्टीको विवाद यति सतहमा आयो कि अब दुई मध्ये एक पक्ष बाहिर रहने पक्का छ । यतिसम्म की कुन पक्ष आधिकारिक हो भनेर निर्वाचन आयोग र सर्वोच्चसम्म पुगिसके । भलै आयोगले गगन नेतृत्वलाई मान्यता दिएको छ । सर्वोच्चले पनि अन्तरिम आदेश दिन मानेन । यसर्थ गगन नेतृत्व आधिकारिक भइसक्यो तर पनि नेताहरु मिल्न सकेका छैनन् ।
यतिबेला उनीहरु एकले अर्कोलाई आरोपप्रत्यारोप लगाउँदै पानीमाथिको ओभानो झैं गरिरहेका छन् । जुन नेपाली कांग्रेसमा आस्था राख्ने जो कसैका लागि त निराशाको कुरा हो नै, समग्र देशकै लागि पनि यो पक्कै राम्रो कुरा होइन । जे नहुनु पर्ने आज त्यही भइरहेको छ ।
नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको समय अवधि गत मंसिरमै सकिएको हो । चार वर्षे कार्यअवधि सकिएपछि नियमअनुसार महाधिवेशन हुनै पर्छ । विशेष परिस्थितीमा कार्यसमितिको बैठकले ६ महिना र कुनै दलले एक वर्षसम्म थप गर्न सक्ने र ढिलोमा ५ वर्षमा महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । कांग्रेसको हकमा कुरा गर्ने हो भने यसअघि २०७८ सालमा महाधिवेशन हुँदा पनि त्यो निर्धारित समयमा भएको थिएन । पटकपटक समय थप्दै करिब डेढ वर्ष ढिलो गरि भएको थियो । यस पटक पनि निवर्तमान सभापति शेरबहादुर देउवा यसरी नै केही समय पर धकेल्दै महाधिवेशन सार्ने मनस्थितीमा थिए । तर गगन र विश्वले विद्रोह गरे, आफ्नै कारण देउवाको योजना फेल भयो ।
अन्ततः गत मंसिरमै पुस २७ देखि २९ गतेसम्म कांग्रेसको नियमित महाधिवेशन गर्ने भन्ने केन्द्रीय समिति बैठकले निर्णय गर्यो । जस अनुसार पुस १६ गते वडास्तरको अधिवेशन हुनुपर्ने थियो । त्यो मितिमा अधिवेशन नै भएन । बरु आउने फागुनको २१ गतेका लागि तोकिएको निर्वाचनपछि आगामी वैशाखमा महाधिवेशन गर्ने कांग्रेसको निर्णय सार्वजनिक भएपछि भने पार्टीको आन्तरिक विवाद राम्रैसँग सतहमा आयो ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका युवा नेताहरु विशेष महाधिवेशनको पक्षमा खुलेरै लागे भने शेरबहादुर देउवा पक्ष भने आफूसँग सबै कुराको पर्याप्त बहुमत छ, महामन्त्रीका कुरा किन मान्ने भन्ने यथास्थितीवादी सोचमै रहेको देखियो । अन्ततः महामन्त्रीद्वय शर्मा र थापाले पुस २७ गतेदेखि काठमाडौंमा भव्यरुपमा विशेष महाधिवेशन गरे । देउवा पक्षका नेताहरु आएनन् तर बहुमत महाधिवेशन प्रतिनिधि र कार्यकर्ताको उपस्थितीमा गगन र विश्वहरुले आफूले भनेजसरी नै विशेष महाधिवेशन गरेरै छोडे । यति मात्र होइन, पुरानो कार्यसमिति भंग गरेर गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरे । त्यसपछि निर्वाचन आयोगमा अद्यावधिक गर्न पुगे ।
जे होस् अब चाहिँ रमिता नदेखाइ चुनावमा जानु पर्ने बेला आएको छ । यसलाई जिम्मेवार नेताहरुले बुझ्न सक्नु पर्छ ।
