विगतमा जस्तै यसवर्ष पनि काभ्रेको मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब १३० परिवार किसानले आफ्नो भएभरको जग्गामा काउली रोपेका छन् । गतवर्ष भाउ नपाउँदा उनीहरुको लगानी जोखिममा परेको थियो तर यसवर्ष त्यस्तो छैन । प्रतिकेजी ६० देखि ७५ रुपैंयाँसम्ममा बिक्री भइरहेको छ । जसले गर्दा किसानहरु उत्साहित छन् ।

राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई बारीमा फलेको काउली काट्न अहिले भ्याइनभ्याइ छ । बजारमा काउली ४५ रुपैंयाँ केजीसम्ममा बिक्री गर्न पाएपछि उनी मख्ख छन् । गतवर्ष लगानी नै उठेन, यो वर्ष अहिलेसम्म राम्रो छ । करिब ४ रोपनी बारीमा काउली रोपेका उनी यो वर्ष ५ हजार केजीसम्म बिक्री गर्ने सोचमा छन् । तर गतवर्ष जस्तो उत्पादन भने छैन । रोग लागेपछि उत्पादन घटेको उनले बताए ।

हरेक वर्ष राम्चेवेँसीमा तरकारी खेती हुन्छ तर भाउ भने एकनास हुँदैन । तैपनि खेती त गर्नैपर्छ । यहाँका किसानले बनेपामा हरेक हप्ता स्थानीय हाट बजार लाग्ने गरेको र त्यहाँ तरकारी र फलफूलको किसान आफैंले व्यापार गर्ने गरेको सुनेका छन् । आफ्नो नगरपालिकामा यस्तै हाटबजार हुने हो भने तरकारी बेच्नका लागि काठमाडौँ लैजानु पर्ने अवस्था नहुने र उचित मूल्य पाइने किसानहरुको आशा छ । मण्डनदेउपुर नगरपालिकाले पनि हाटबजारको व्यवस्था गरेको छ तर त्यो नगरकोटमा मात्र सिमित छ, जसले नगरका भित्री गाउँहरुका तरकारी बेच्न सहज छैन । स्थानीय व्यापारीहरुलाई तरकारी पठाउने गरेका यहाँका किसानहरु आफूहरुलाई पायक पर्ने ठाउँमा यस्तो हाटबजार राख्न नगरपालिकासँग अनुरोध गर्छन् ।

यसवर्ष एउटै किसानले एक सिजनमा काउली, बन्दा र गोलभेंडा बेचेर ५ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेका छन् । दुई वर्ष पहिले पनि राम्रै भाउ पाइएको थियो तर गत वर्ष भने लगानी उठाउन पनि कठिन भयो । किसानहरु भन्छन् ‘तरकारीको मूल्यको कुनै ठेगान हुँदैन, चिठ्ठा परे जस्तै हो । कहिले मूल्य पाइन्छ, कहिले दुःख मात्र हुन्छ ।’ उपभोक्ताले बजारमा अहिले काउलीको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म तिर्दा पनि यहाँका किसानले भने ६० रुपैंयाँ मात्रै पाइरहेका छन्  । तैपनि उनीहरु खुशी नै छन् । कुनै वर्ष ४० रुपैंयाँ प्रतिकेजीबाट घटाउनु परेन भने त्यो वर्ष लगानी उठाएर केही बचत पनि गर्न सकिने किसानहरुको अनुभव छ ।

काउली रोप्नका लागि बारी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा किटनाशक विषादी हाल्ने लगायतका काम गर्नुपर्छ । तर त्यसको मूल्य पाइँदैन । सरकार कृषिमै आत्मनिर्भर हुन र रोजगारीका लागि विदेश नजान युवाहरुलाई आग्रह गर्छ तर यही सोचले व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुका लागि खेती गर्ने वातावरण बनाउँदैन । त्यसैले तरकारीबाट उचित मूल्य नपाएपछि किसानहरुमा निराशा छाएको हो । यस वर्ष भने किसान खुशी भएका छन् । सधैं किसान खुशी भएका र उत्पादित वस्तुले राम्रै भाउ पाइएका समाचार लेख्न र सुन्न पाइयोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *