सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको श्री महाकाली माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला बिहीबार सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयले विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले यस विद्यालय मेलम्ची नगरपालिकामा मात्र नभएर जिल्लामै चिनिएको विद्यालय रहेको बताउनुभयो । उपप्रमुख प्रधानले यो क्षेत्र प्रख्यात रहेकाले यसलाई अझै विकास गर्दै अगाडि जाने कुरामा सधैं साथ र सहयोग रहने बताउनुभयो । यहाँको खानेपानीको समस्या समाधानका लागि आफूहरु निर्वाचित भएदेखि नै लागिपरेको बताउँदै उहाँले विद्यालयको घेराबार, कक्षाकोठा ब्यवस्थापन लगायतको काम भइसकेको र आगामी दिनमा समेत आवश्यक काम गर्दै जाने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेश तामाङले गुणस्तरीय शिक्षाका लागि वडा र नगरपालिकाबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले वडाभित्र रहेका सबै विद्यालयलाई उत्तिकै महत्त्व दिनुपर्ने भएकाले शिक्षा विकासको सधैं साथ र सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका जग्गा दाता, पूर्वप्रधानाध्यापक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा लोक गायक सूर्यमणि आचार्य, सुरेश तामाङ, बालिका तामाङ, अर्जुन सुन्दास लगायत कलाकारले आफ्ना प्रस्तुति प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थीहरुले पनि आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकेन्द्र स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद तिवारीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयको अक्षयकोष स्थापनाका लागि विद्यालयका पूर्वप्रधानाध्यापक गणेशप्रसाद तिवारीले १ लाख ११ हजार १११ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा समाजसेवी ठाकुर तिवारी, अभिभावक प्रतिनिधि क्षितिज तामाङ लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम विद्यालयका शिक्षक आसमान तामाङले सञ्चालन गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयमा संचालित विभिन्न प्रतियोगिताका विजेता तथा सहभागी खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *