काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले ०८१/०८२ को लागि योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न गरेको छ । काभ्रे जिल्ला शाखामा आबद्ध रहेका उपशाखा र तदर्थ उपशाखाका अध्यक्ष तथा सचिव लगायत करिब ३५ जना प्रतिनिधिहरुको सहभागिता रहेको सो गोष्ठीको शुभारम्भ पूर्व मन्त्री एवं सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले गर्दै संवैधानिक व्यवस्थाअनुसार रेडक्रस पनि संघीय संरचनामा जानुपर्ने बताउनुभएको थियो ।

संविधान बनेको यतिका वर्ष भइसक्दा पनि रेडक्रस जस्तो मानवीय संस्थाले संविधान प्रद्धत्त अधिकारलाई उपयोग गर्न नसक्नु आफैंमा सोचनीय विषय भएकोले काभ्रे जिल्ला शाखाले अबको उपशाखाहरुको निर्वाचन संघीय ढाँचामा गर्नुपर्ने बताउनुभएको छ ।

उक्त गोष्ठीमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य कुमार कार्की, जिल्ला शाखा सभापति देवेन्द्र प्रसाद भैले, उपसभापति पुष्पा खड्का बस्नेत, मन्त्री राजु सिग्देल लगायतले रेडक्रसले आजसम्म खेलेका भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो भने सहभागी उपशाखा प्रतिनिधिहरुले रेडक्रस, रेडक्रस जस्तो हुनुप¥यो, कुनै पार्टीको भातृ संगठन जस्तो फरक विचारलाई निषेधको संस्कार अन्त्य गर्नुपर्ने धारणा राखेका थिए भने वार्षिक योजना तर्जुमा गोष्ठीमा प्रतिबद्धता जाहेर गर्ने क्रममा टौखाल उपशाखाको तर्फबाट प्रतिनिधि प्रल्हाद शर्मा हुमागाईंले जिल्लास्तरीय कविता प्रतियोगिता, निबन्ध प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, आँखा शिविर, दन्त शिविर, रेडक्रस दिवस, स्वयंसेवी जिल्लास्तरीय महिला भेला गर्ने प्रतिबद्धता जाहेर गर्दै रक्तदान अन्तर्गत ५१ पिन्ट रगत संकलन गर्ने उपशाखाहरुलाई नगद ५ हजारको दरले सम्मान गर्ने समेत बताएका थिए ।

त्यसैगरी बनेपा नगरपालिका र नेपाल रेडक्रस सोसाईटी काभ्रे जिल्ला शाखा (रक्त सञ्चार सेवा) बीच सम्झौता भएको छ । जसअनुसार बनेपा नगरबासीलाई निःशुल्क रगत उपलब्ध हुने भएको छ । सम्झौतामा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटाको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देबेन्द्र भैलले हस्ताक्षर गरेका छन् ।

रगत तथा रक्त तत्व आवश्यक पर्दा रक्तसञ्चार केन्द्रले बनेपा नगरपालिकाका स्थायी बासिन्दालाई रगत उपलब्ध गराउने, रगतको सेवा लिनुपर्ने वा लिएका ब्यक्ति बनेपा नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण चाहिए, आपतकालिन रगत लिनु पर्ने भए सम्बन्धित ब्यक्तिले आवश्यक कागजपत्र नपुगेमा भुक्तानी गरी प्रदान गरिने छ र पछि कागजपत्र उपलब्ध गराएपछि रकम फिर्ता गरिने नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति भैलले जानकारी दिनुभयो । यसबाट रगत किन्न नसकी उपचारमा समस्या हुने आम नागरिकहरूलाई सहज हुने नगरप्रमुख शाक्यले बताए ।

मंगलटार उपशाखालाई सम्मान

यसैबीच नेपाल रेडक्रस साेसाइटी उपशाखा मंगलटारलाई सम्मान गरिएकाे छ । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षापछिकाे विपदमा स्वयंसेवकहरु परिचालन गरी राहत तथा उद्धारका गतिविधीहरुमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेले प्रदान गरेको सम्मान पत्र प्रमुख अतिथि पूर्वउद्याेग राज्यमन्त्री तथा बाग्मती प्रदेशका सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले उपशाखा सभापति दामोदर श्रेष्ठलाई प्रदान गर्नुभयाे ।

यस जिल्ला शाखा अन्तर्गत रहेको ३२ वटा उपशाखा मध्ये मंगलटार उपशाखालाई उत्कृष्ट उपशाखाको रुपमा कार्यसम्पादनको आधारमा मूल्यांकन गरिएकाेप्रति जिल्ला कार्यसमितिलाई उपशाखाले हार्दिक आभार ब्यक्त गरेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *