बाढीपहिरोपछिको पुनर्निर्माण कसरी ?

काभ्रे । बाढीपहिरोले तहसनहस बनाएपछि काभ्रेका स्थानीय तहहरुमा अब गाउँबस्तीलाई कसरी पुनर्निर्माण गर्ने भन्ने समस्या थपिएको छ । यसकै लागि उनीहरुले प्रदेश र संघीय सरकारलाई गुहारिरहेका छन् । सरकारबाट सोचेजस्तो आर्थिक सहयोग नपाएपछि अहिले अधिकांश पालिकाहरु चालु आर्थिक वर्षको बजेटमा संशोधन गर्दै विकास निर्माण र कृषिमा विनियोजित बजेट कटौती गर्दै बाढीपीडितका लागि खर्च गर्ने मनस्थितीमा पुगेका छन् । यसैक्रममा जिल्लाको बेथानचोक र रोशी गाउँपालिकाले विशेष अधिवेशन गर्दै बजेट संशोधन गरिसकेका छन् भने अन्य प्रभावित पालिकाहरु पनि यहि सोचमा छन् ।
विपद् व्यवस्थापनका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट विशेष अधिवेशनको आयोजना गरी संशोधन थालेका हुन् । गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनर्वासका लागि यहाँका स्थानीय तहले विनियोजित बजेट कटौती गर्न थालेको जनाएका छन् ।
जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपहिरो प्रभावितलाई थप राहत प्रदान गर्न गाउँसभाको विशेष अधिवेशनबाट छुट्टै बजेट व्यवस्थापन गरेको पालिकाहरुले जनाएका छन् । यी पालिकाहरुले चालु आर्थिक वर्षको बजेट संशोधन गरी विपद् कोषमा बजेट व्यवस्थापन गर्न थालेका हुन् ।
बेथानचोक गाउँपालिकाले शुक्रबार विशेष गाउँ अधिवेशनको आह्वान गरी चालु आवमा विनियोजित ६४ करोड १२ लाख बजेटमा नौ करोड ३१ लाख ८७ हजार कटौती गरी विपद् व्यवस्थापन कोषका लागि छुट्याएको छ । सो गाउँपालिकाले चालु आवका लागि १५औँ अधिवेशनद्वारा पारित महत्वपूर्ण योजना बाहेकका योजना कटौती गरी विपद् व्यवस्थापन योजना तयार गर्न लागेको अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त बजेटबाट प्राथमिकताका आधारमा पुनःनिर्माणबारे योजना बनाइनेछ ।
बाढीपहिरोले उक्त गाउँपालिकामा १२ को मृत्यु भएको थियो भने २३ हजार छ सय स्थानीय प्रभावित बनेको जनाइएको छ । संघीय सरकारद्वारा मृतकका परिवारलाई दुई लाखका दरले राहत दिइएको छ भने संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले दुई वडाका दुई सय ६९ परिवारलाई संघीय सरकारबाट घोषित अल्पकालीन राहत प्रदान गरिएको छ ।
यस्तै बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएपछि रोशी गाउँपालिकाले पनि १५औँ अधिवेशनले चालु आर्थिक वर्षको योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न गत कात्तिक ३० गते नै विशेषसभामार्फत निर्णय गरेको छ । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छ भने विपद् कोष दुई करोड ८० लाखको बनाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।
लामाका अनुसार तत्कालका लागि विपद्ले क्षति पु¥याएको पूर्वाधारको मर्मत तथा निर्माणका लागि एक करोड, विपद् हेल्पडेस्कका लागि पाँच लाख, तथ्याङ्क सङ्कलन तथा जनशक्ति परिचालनमा १० लाख, राहत (खाद्यान्न, लत्ताकपडा)का लागि ५० लाख, मृतक परिवारलाई प्रतिपरिवार ५० हजार, मर्मतसंभारमा ५० लाख विपद् सामग्री खरिदमा १० लाख तथा प्रकोप पीडितलाई सहायताका लागि ५५ लाख बजेट विनियोजन गरिएको छ ।
उक्त गाउँपालिकामा बाढीपहिरोले १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ परि पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिकरुपमा क्षति पुगेको थियो । यस्तै दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । बाढीपहिरोले भर्खरै निर्माण सम्पन्न भएको डम्फू पार्क, १० शैयाको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको छ ।
उता नमोबुद्ध नगरपालिकाले ८४५ पीडितलाई नगद वितरण गरेको छ । लाभग्राहीका लागि दशैंअघि नै रकम वितरण गरिने भनिए पनि सबैको बैंक खाता नभएकाले समस्या भएको थियो । जसको बैंक खाता उपलब्ध भयो उनीहरुलाई बैंकमै र खाता नहुनेलाई हातहातमै नगद वितरण गरिएको नगरप्रमुख लामाले बताउनुभयो ।
कार्यक्रममा युनिसेफका नेपाल प्रतिनिधि एलिश एकुङ्गाले अब नगद वितरणसँगै पुनर्निर्माणमा पनि सँगसँगै हातेमालो गर्न तयार रहेको बताउनुभयो । प्रभावितहरुको उद्धारमा जसरी स्थानीय सरकार लागिपरेको थियो, पुनर्निर्माणमा पनि त्यसरी नै अघि बढ्ने हो भने छिट्टै नै पीडितलाई राहत मिल्ले उहाँको भनाइ थियो । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र स्थानीयवासीको पहलमा हुने सबै काममा युनिसेफ सधैं साथमा रहेको बताउँदै उहाँले प्राकृतिक प्रकोपसँग जोगिन पूर्वतयारी पनि उत्तिकै जरुरी रहेकोमा जोड दिनुभयो । प्रकोपबाट धेरैजसो महिला, जेष्ठ नागरिक र बालबालिका प्रभावित हुने गरेको र उनीहरुलाई सुरक्षित राख्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । युनिसेफले यस नगरपालिकाका खानेपानी, सडक निर्माणलगायतका पूर्वाधार निर्माणमा पनि सहयोग शुरु गरेको छ ।
सहयोगी संस्थाप्रति नगरप्रमुख लामाले नगरपालिका र व्यक्तिगततर्फबाट धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले नगरका शिक्षा, स्वास्थ्य, कृषिलगायत अन्य क्षेत्रमा पनि निकै ठूलो क्षति पुगेको जानकारी दिनुभयो । राहत रकम पाएका पीडितहरुका अनुहारमा सुनौलो किरण छरिएको राहत बुझेका स्थानीय इन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । आफ्नो भएभरको घरजग्गालगायतका संरचनाहरु रोशीमा बगेको तितो स्मरण सुनाउँदै उहाँले आफ्नो ५ जनाको परिवार अहिले कोही शहर त कोही आफन्तकोमा बसिरहेको बताउनुभयो ।
नगरपालिकाले दिएको तथ्यांकअनुसार अविरल वर्षाले यस नगरमा ७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । एक सय ८४ वटा गोठहरु भत्किएका छन् भने ५५ वटा भैंसी, ६३ वटा गाई÷गोरु र ३६३ वटा बाख्रा मरेका छन् । वडाहरुका प्रशासनिक भवन ७ वटा, स्वास्थ्यचौकी १० र सामुदायिक भवन १० वटा क्षति भएका छन् । यस्तै विद्यालय भवन ४० वटा, खानेपानी आयोजना ११९ वटा, २४७ वटा साना ठूला सडकमध्ये ३५७ किलोमिटर क्षति, पूर्णरुपमा क्षति भएका घरहरु ४६४, आंशिक क्षति तथा जोखिममा रहेका १ हजार ९३ वटा घर र प्रभावित जनसंख्या २६ हजार १६० रहेको पालिकाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
मण्डनदेउपुर नगरपालिकाले पनि बाढीपीडितका लागि सहयोग गर्न विकास बजेट कटौती गर्नुपर्ने अवस्था आएको पालिका प्रमुख टोकबहादुर वाइवाले बताउनुभयो । कृषि र विकास निर्माणमा विनियोजित बजेट पीडितहरुका लागि व्यवस्था गर्नु परेकाले सोचेजसरी विकास गर्न सक्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो । पालिकामा ७ जनाको मृत्यु भएको थियो भने वडा नम्बर ९, १०, ११ र १२ मा करोडौंको धनजनको क्षति भएको छ ।
घटनाको दुई महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुन सकेको छैन । जिल्लाका ८ स्थानीय तहलाई नेपाल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । १३ स्थानीय तहमा कुन तहमा हालसम्म कति क्षति भयो भन्ने आधिकारिक विवरण जिल्लास्थित कुनै पनि सरकारी निकायसँग छैन ।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार आठ सय ४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै तीन हजारदेखि तीन हजार पाँच सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । यस्तै तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएको जनाइएको छ ।
जिल्लामा ७९ जनाको मृत्यु
गत असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा ७९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु र ७५ जना घाइते भएका छन् । ५ जना बेपत्ता छन् । पालिका अनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १९, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ७, रोशीमा १२, चौरीदेउरालीमा १, बेथानचोकमा १२, तेमालमा १२ र भुम्लुमा ३ जनाको मृत्यु भएको हो । जसमध्ये १६ जना बालबालिका रहेका छन् । प्रभावित ८ वटा पालिकालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *