बनेपा । नाइटिङ्गेल एकेडेमीमा बिहीबारदेखि परियोजना आधारित सिकाइ (Project-Based Learning – PBL) प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको पहिलो दिन कक्षा ८ र ९ का विद्यार्थीहरूले तयार पारेका विविध शैक्षिक परियोजनाहरू प्रस्तुत गरेका छन् । यस अवसरमा विद्यार्थीका अभिभावकहरूलाई पनि आमन्त्रण गरिएको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक उमा बस्नेतले पीबीएल पद्धतिले विद्यार्थीमा सृजनशीलता, समालोचनात्मक सोच, सहकार्य र आत्मविश्वास विकास गर्ने बताइन् । “विद्यार्थीहरूले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने यो उत्कृष्ट माध्यम हो,” उनले भने।

प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, वातावरण संरक्षण, प्रविधि, सामाजिक समस्या, नवप्रवर्तन र जीवनोपयोगी सीपसम्बन्धी परियोजनाहरू प्रस्तुत गरेका छन्। विद्यार्थीहरूले आफ्ना परियोजनाबारे अभिभावक तथा आगन्तुकहरूसँग प्रत्यक्ष संवाद गर्दै व्याख्या गरेका थिए। कार्यक्रम अवलोकन गरेका अभिभावकहरूले आफ्ना छोराछोरीको प्रस्तुति, प्रस्तुतीकरण शैली र आत्मविश्वास देखेर खुसी व्यक्त गरे । शिक्षकहरूले पनि विद्यार्थीहरूको मिहेनत, अनुसन्धान क्षमता र टोलीकार्यको प्रशंसा गरेका थिए ।

विद्यालय प्रशासनका अनुसार पीबीएल प्रदर्शनी आजदेखि कक्षा–कक्षागतरूपमा केही दिनसम्म निरन्तर सञ्चालन हुनेछ। प्रत्येक दिन फरक–फरक कक्षाका विद्यार्थीहरूले आफ्ना परियोजनाहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यस प्रकारको शैक्षिक गतिविधिबाट विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र समस्या समाधान गर्ने सीप विकास हुने विश्वास विद्यालयले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *