काभ्रे । जिल्लाको दक्षिणी क्षेत्र महाभारत गाउँपालिकामा मङ्गलबारदेखि दुईदिने स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा विशेषज्ञ चिकित्सकसहितको टोलीले यहाँ बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति, स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रवाह गरिरहेका छन् ।
शिविरमा प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड र निःशुल्क औषधि वितरण गरिएको छ । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियानअन्तर्गत सेवा प्रवाह गरिएको हो । उक्त गाउँपालिकाको वडा नम्बर ६ बनखुचौरमा आयोजित शिविरमा मेथिनकोट अस्पताल, बज्रबाराही अस्पताल, शिर मेमोरियल अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य चौकी, सिन्धुली अस्पताल, नेपाल परिवार नियोजन सङ्घमा आबद्ध विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीले सामान्य चिकित्सा सेवा दिइरहेका हुन् ।
शिविरको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले उद्घाटन गर्दै दुई थान अक्सिजन कन्सन्ट्रेटर, अल्ट्रासाउण्ड मेसिन, डेलिभरी सेटसहित ११ लाख बराबरको स्वास्थ्य उपकरण र तीन लाख बराबरका औषधि हस्तान्तरण गर्नुभएको थियो ।
