• ज्ञानमणि नेपाल कालोटोपी

गत अंकबाट निरन्तर……
कोही मान्छेहरु आत्महत्या गर्छन् तर पशुपन्छी र चराहरुले आत्महत्या गरेको मलाई आजसम्म थाहा छैन । यसको मतलब उनीहरु आत्महत्या नै गर्दैनन् । भनाइको अर्थ के हो भने मानिसले आफू मानिस भएर जन्मिएको अर्थ नबुझेर आत्महत्याको बाटो समाउन पुग्छन् तर पशुहरुलाई थाहा छ कि पशु भएर जन्मिएको अर्थ । त्यसैले आत्महत्या कायरता हो भनिन्छ । हुन त कुनै कारण नपरी कसैले आत्महत्या गर्दैन होला तैपनि आफूले आफ्नै हत्या गर्नु पनि शास्त्रले अपराध मानेको छ ।

भनिन्छ नि १० मिनेट श्रीमतीसँग बस्नुस्, जीवन संघर्ष छ जस्तो लाग्छ । १० मिनेट जड्याहासँग बस्नुस् जीवन सजिलै चल्छ जस्तो लाग्छ । १० मिनेट नेताहरुसँग बस्नुस्, तपाईंलाई जीवनमा पढेको बेकार रहेछ जस्तो लाग्छ । १० मिनेट साधुसँग बस्नुस्, सबै सम्पत्ती दान गरि सन्यासी भई बसौं जस्तो लाग्छ । १० मिनेट व्यापारीसँग बस्नुस्, आफ्नो कमाइ त केही पनि होइन जस्तो लाग्छ । १० मिनेट वैज्ञानिकसँग बस्नुस्, आफू त साँच्चै मूर्ख र अज्ञानी रहेछु जस्तो लाग्छ । १० मिनेट किसान वा मजदूरसँग बस्नुस्, म त परिश्रम नै गर्दो रहेनछु जस्तो लाग्छ । १० मिनेट एक असल मित्रसँग बस्नुस्, जीवन साँच्चै नै राम्रो छ जस्तो लाग्छ । यसपछि पनि मान्छेले आत्महत्याको बाटो रोज्छ भने ऊ जीवनदेखि हारेको रहेछ भन्ने बुझ्न कठिन छैन ।

समय, शक्ति, सम्पत्ती र शरीरले सधैं साथ दिन सक्दैन, तर स्वभाव, समझदारी र सच्चा सम्बन्धले सधैं साथ दिन्छ । नदीमा हाम फाल्दैमा कसैको मृत्यु हुँदैन । मृत्यु त तब हुन्छ, जब उसलाई पौडिन आउँदैन । परिस्थिती कहिल्यै समस्या बनेर आउँदैन, समस्या त तब आउँछ, जब हामीलाई परिस्थितीसँग जुध्न आउँदैन । चन्द्रमाले भुईं छुने भए दिन पनि किन रात हुनु पथ्र्यो र, यात्रामा भेटिएका सबै मान्छेले सधैं साथ दिने भए आखिर दुःखमा किन एक्लै हिँड्नु पथ्र्यो र ? यी यथार्थहरु बुझ्नेहरुका लागि जीवन अमूल्य लाग्छ, बुझ्न सकिएन भने जीवन बोझ लाग्छ । बाँच्नकै लागि मानिस करोडौं संघर्ष गर्छ, तर यही जीवन नबुझ्नेले आत्महत्या गरेर जीवन सक्याउँछ । मानिसको स्वभाव र बुद्धी फरकफरक हुन्छ । यो यथार्थ हो ।

जीवनमा त्यस्तो मान्छेको साथ होस् वा संगत होस् कि जसले उपहार घडी होइन अमूल्य समय दिओस् । तर सोचेजस्तो कहाँ हुन्छ र जीवन ? भनिन्छ नि, दुष्ट व्यक्तिलाई मन नदिनु, बृद्ध बृद्धाहरुलाई गाली नदिनु । नेताहरुलाई ताली नदिनु, आफन्तलाई धन नदिनु, मित्रहरुलाई घात, अपराधीलाई मौका र प्रेममा धोका नदिनु । तर अहिले यी सबै उल्टो भएका छन् । मान्छेले अवसर पायो भने र आफ्नो स्वार्थ पूरा गर्नु छ भने कसैको ज्यानै लिन पनि ऊ पछि पर्दैन । भगवानको पालामा जस्तो अहिले अनुशासन कहाँ पाउनु र ?

जीवनमा मानिसले केही व्यक्तिहरुलाई कहिल्यै भुल्नु हुँदैन र उनीहरुलाई धोका दिनु पनि हुँदैन । कसैले समस्यामा साथ दियो वा सहयोग गरेको छ भने त्यस्ता मानिसलाई कहिल्यै धोका दिनु हुँदैन । तपाईंका अप्ठ्याराहरुमा समय दिने मानिस, शिक्षा दिने मानिस र ममता दिने मानिस साक्षात भगवान हुन् । उनीहरुलाई धोका दिनु भनेको आफैंले आफैंलाई भुल्नु हो । यी मानिस सधैं चाहिन्छन् । उनीहरुले तपाईंलाई कहिल्यै समस्यामा पार्दैनन् ।

कुनै काम गर्दै हुनुहुन्छ भने म सक्दिनँ भन्ने सोच कहिल्यै मनमा नराख्नुस् । आजैबाट थाल्नुस् र म सक्छु भन्ने सकारात्मक सोच लिनुस् । अरुलाई खुशी बनाउनका लागि आफ्नो शक्ति अनावश्यकरुपमा खर्च नगर्नुस् र आफ्नो विगत सम्झेर कहिल्यै पनि दुःखी नहुनुस्, वर्तमानमा रमाएर भविष्य राम्रो बनाउनुस् । जीवनमा इमान्दार मानिसलाई कहिल्यै धोका नदिनुस्, किनकी जसरी शीशा फुटेपछि जोड्न सकिँदैन नि त्यसैगरि इमान्दार मानिसको विश्वास टुट्यो भने उसलाई कहिल्यै आफ्नो बनाउन सकिँदैन ।

हरेक क्षण तपाईंले यी कुरा याद राख्नुस् कि आफ्नो परिवारभन्दा ठूलो कुनै धन छैन । बुबाभन्दा ठूलो अरु कोही सल्लाहकार छैन, आमाको काखभन्दा ठूलो कुनै दुनियाँ छैन । भाइभन्दा राम्रो कुनै भागिदार छैन र बहिनीभन्दा ठूलो कुनै शुभचिन्तक छैन । तर समय धेरै फेरिएको छ । यस्ता कुरालाई एउटा कुनामा फालेर धन र घमण्डको पछि लाग्ने जमात निकै ठूलो छ । मानिस क्षणिक फाइदाका लागि अहिले जे पनि गर्न तयार छ । यसले दीर्घकालमा आफूलाई पार्ने समस्या के होला भनेर उसले कहिल्यै पनि सोच्दैन । जहिले सोच्न थाल्छ, ढिलो भइसकेको हुन्छ । त्यतिबेला पछुताउनुको कुनै विकल्प छैन ।
क्रमशः…………..।

Leave a Reply

Your email address will not be published. Required fields are marked *