भक्तपुर । यसवर्ष गत बिहीबारदेखि शुरु भएको एसइई परीक्षामा नेपालबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन् ।

यस वर्षको माध्यमिक शिक्षा -एसइई) परीक्षा बिगतका वर्षभन्दा केही फरक हुने भएको छ । परीक्षार्थीले जाँच दिएसँगै उत्तरपुस्तिका जाँच सुरु हुनेछ भने नतिजाका लागि तीन महिना लामो प्रतीक्षा गर्नुपर्ने छैन । एक महिनामा नै परीक्षाफल प्रकाशित हुनेछ ।

यसपटक परीक्षार्थीमा छात्रभन्दा छात्राको संख्या २ हजार ८ सय ६ जनाले बढी छ । आवश्यक तयारी पुरा भएको जनाएको राष्ट्रिय परीक्षा बोर्डका अनुसार १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुनेछ । परीक्षा केन्द्रमध्ये एउटा जापानमा पनि छ । परीक्षाको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

चैत २९ गते सम्पन्न हुने परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिनेछन् । परीक्षार्थीमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना परीक्षार्थी छन् ।

परीक्षामा सात प्रदेशमध्ये कोशीबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट १ लाख ९ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने चैत २० मा अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *