ज्ञानमणि नेपाल कालोटोपी
चौढिक, महाभारत । काभ्रेको महाभारत गाउँपालिका वडानम्बर ५ मा छ गोपीलाल लुंगेली मगरको घर । उहाँको घरको एक कुनामा जाँतो राखिएको छ । सामान्य कुटानी पिसानीका काम जाँतोमै हुन्छन् । ‘मकै पिस्न, दाल बनाउन र अरु काम पनि जाँतोमै गर्छु ।’ – उहाँ भन्नुहुन्छ । हामी उहाँको घरमा पुग्दा जाँतो काट्ने काम गर्न व्यस्त हुनुहुन्थ्यो । जाँतो चलाउँदै र यसको कटान गर्दै उहाँले ७१ वर्ष कटाइसक्नु भएको छ ।

गाउँमा उहाँले जस्तै अरु केही छिमेकीले पनि जाँतो राख्नुभएको छ । तर नगन्य मात्र । पहिले त घरैपिच्छे जाँतो हुन्थ्यो, मानौँ हिजोआज घरैपिच्छे टेलिफोन सेट भए जस्तै । तर समय परिवर्तन भयो । पहिले जाँतो हुने घरमा यतिबेला आधुनिक र सुविधा सम्पन्न मेशिनहरु छन् । जहाँ छिटो कुटानी पिसानीका कामहरु गरिन्छ ।

उतिबेला जाँतो घरमा हुनु अनिवार्य जस्तै थियो । तर अहिले एकादेशका कथा जस्ता भएका छन् । जाँतो बनाउने ढुंगाहरु पनि पाइन छोडे । किन्छु भन्दा पनि छैनन् । त्यसैले अब पछिल्ला पुस्ताका लागि यस्ता विषय कथा जस्तै हुने भएकोमा मगर चिन्तित हुनुहुन्छ । जोगाउन प्रयास गर्दा पनि त्यो सम्भव भएन । आधुनिक मेशिनहरुको बढ्दो लोकप्रियतासँगै जाँतो र ढिकीहरु हराए । कतै कतै पानीघट्टहरु भने पाइन्छन् । तर ती पनि पर्याप्त छैनन् । जाँतो र घट्ट बनाउन प्रयोगमा आउने ढुङ्गाहरु पनि नपाइने भएकाले पनि यो पेशाको अस्तित्व हराउन थालेको हो ।

पानीघट्ट र जाँतोहरुमा मकै, कोदो र गहुँ लगायतका अन्नहरुको पिसानी गरिन्थ्यो । पहिले–पहिले आधुनिक मेशिनहरुको प्रयोग थिएन । यिनै जाँतो र घट्टहरु प्रयोगमा आउँथें । करिब दुई दशकदेखि गाउँहरुमा आधुनिक सुविधा सम्पन्न मेशिनहरु अत्याधिक मात्रामा प्रयोगमा आउन थालेपछि जाँतोहरु लोप भएको स्थानीय रत्नमाया लुंगेली मगर बताउनुहुन्छ ।

पिसानीका लागि केही समय बढी लाग्छ । तर संचालन गर्न सजिलो र पेट्रोलियम पद्धार्थको बचाउ गर्न तथा सहुलियतका लागि पनि पानीघट्ट, जाँतोहरु भरपर्दो हुने भएपनि अहिले विस्थापित हुन थालेकोमा उहाँ पनि चिन्तित् हुनुहुन्छ । संरक्षण गर्न नसकेपछि आफूहरुका सबैखाले परम्परागत व्यवसायहरुको अस्तित्व हराउन थालेको उहाँको गुनासो छ ।

के हो जाँतो ?
बलियो ढुंगालाई कुँदेर बनाइन्छ जाँतो । करिब नाङ्लो आकारको गोलो ढुंगाको बीचमा छिनोले खोपेर प्वाल बनाइन्छ । एकापटि छेउमा काठको किलो ठोक्न अर्को प्वाल पारिन्छ । त्यो प्वालमा जाँतो घुमाउनका लागि हातो ठोकिन्छ । जमिनमा गाडेपछि अर्को पातलो घट्ट आकारको ढुंगो तल ओछ्याइन्छ । माथि भएको जाँतोको बीचको प्वालबाट अन्नहरु हालिन्छ र बेसरी घुमाइन्छ । जाँतो घुमेसँगै अन्नहरु पिठो बनेर निस्कन्छ । यस्ता जाँतोहरु पहिले अधिकांश गाउँहरुमा प्रयोगमा आउँथे । तर अब कतैकतै मात्र देख्न सकिन्छ । प्रकृतिबाट डाइनोसर हराए जस्तै गरि अब गाउँघरबाट ढिकी, जाँतो, पानीघट्टलगायतका परम्परागत वस्तुहरु लोप हुने अवस्थामा पुगेका छन् । यसको संरक्षणमा भने कसैको पनि चासो रहेको पाइँदैन । महाभारतका सबै गाउँहरुमा आधुनिक मेशिनहरुको उपलब्धता नभएकाले यस्ता जाँतोहरु बाँकी रहेका स्थानीयहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *