धुलिखेल । स्तरोन्नती भइरहेको अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुईतर्फी आवागमन सञ्चालन गरिएको छ । सडक कालोपत्रे गर्न चैत ७ गतेदेखि पटकपटक विभिन्न मिति थप्दै ३० गतेसम्म आवागमन बन्द तथा एकतर्फी सञ्चालन भइरहेकोमा वैशाख १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गरिएको हो ।

यहाँ चैत २२ गतेदेखि कालोपत्रेको काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलिखेल चोकबाट २.५ किलोमिटर सडक एकतर्फी पक्की बनाइएको छ ।

अब सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी पक्की गर्ने कार्य यो साताको अन्तिमबाट सुरु गरिने बताइएको छ ।

सो खण्डमा गत चैत ७ गतेदेखि २० गतेसम्म र दोस्रोपटक २१ गतेदेखि ३० गतेसम्म रातको समयमा आवागमन रोकेर काम गरिएको थियो । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्ने गरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको छ । उक्त सडकखण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने बताइएको छ । सात मिटर चौडाईको बन्ने उक्त सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने जनाइएको छ ।

यसअघि तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उक्त निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो ।

उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *