ज्ञानमणि नेपाल कालोटोपी
रोशी, काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ९ रजबास र महाभारत गाउँपालिका वडा नं. ४ को सीमानामा रहेको बुम्बगाङ-भूमेचुली)मा नयाँ वर्षको अवसरमा विशेष मेला लागेको छ । हरेक नेपाली नयाँ वर्षमा लाग्ने मेलामा काभ्रेका विभिन्न पालिकाका साथै छिमेकी जिल्लाहरु सिन्धुली, रामेछाप, मकवानपुरलगायतबाट आन्तरिक पर्यटक र भक्तजनहरुको उपस्थिती रहेको थियो । रोशी गाउँपालिकाकै अग्लो स्थानका रुपमा रहेको भूमेचुलीमा भुमेदेवको मन्दिर छ । सँगै विगत ४ वर्षदेखि आकर्षक भ्युटावर निर्माण गरिएको छ । यहाँबाट काभ्रेका विभिन्न पालिका, महाभारत तथा हिमालयको सुन्दर दृष्य अवलोकन गर्न सकिने भएकाले आन्तरिक पर्यटकको भीड बढ्न थालेको स्थानीयहरु बताउँछन् ।
यहाँ विशेषगरी हरेक नयाँ वर्ष, फागु पूर्णिमा तथा हरेक हप्ता मंगलबार र शनिबारका दिन मेला लाग्ने गरेको छ । रोशी र महाभारत गाउँपालिकालगायत आसपासका क्षेत्रहरुबाट सो ठाउँमा घुमेर आनन्द लिन र त्यहाँ रहेको मन्दिरमा दर्शन गर्न दर्शनार्थीहरु पुग्ने गरेका रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । मनोकांक्षा पूरा गर्ने देवताको रुपमा सिंहदेवी गुरुजन भूमे देवताको पूजा गर्न र मनोरञ्जन लिनका लागि मानिसहरु बुम्बगाङ-भूमेचुली)मा पुग्ने गरेको उहाँले बताउनुभयो ।
परापूर्व कालदेखि नै मानिआएको देवताको रुपमा रहेको सो ठाउँमा आाफ्नो मनोकांक्षा पूरा गर्नका लागि स्थानीयहरुले पुजा गर्ने गरेको स्थानीय साधुराम राना मगरले जानकारी दिनुभयो । यस क्षेत्रमा मानिसहरुले पहिलेदेखि नै आफ्नो गाउँमा कुनै पनि नराम्रो घटना र नोक्सान नहोस् र बस्तुभाउ एवं अन्नपानीको सुरक्षाको निमित्त सो ठाउँमा रहेको देवताको पूजा गर्दै आएको उहाँको भनाइ छ ।
पछिल्लो समयमा दृश्यावलोकन स्तम्भसमेत निर्माण भएको र बाटो पनि निर्माण भएपछि यहाँ मेला भर्न आउनेको संख्या बढेको हो । तर वर्षायाममा भने त्यहाँ पुग्ने सडक त्यति भरपर्दाे नभएका कारण त्यो सिजनमा पर्यटकहरुको उपस्थिती कम हुने रोशी खाड्पाचोकका स्थानीय छेवाङ लामाले बताउनुभयो । पछिल्ला वर्षमा यहाँ पूर्वाधारका कामहरु भइरहेकाले आगामी दिनमा पर्यटकहरुको आगमन बढ्ने उहाँको अपेक्षा छ ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बुम्बगाङ-भूमेचुली)मा मनोकांक्षा पूरा हुने विश्वासका साथ भाकल गरी पूजा र दर्शन गर्न जानेहरुको संख्या बढेको बताउनुभयो । यहाँ अहिले गाउँपालिकाको समन्वय र बागमती प्रदेश सरकारको सहयोगमा त्यहाँसम्म पुग्ने मोटरबाटो र दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेको बताउँदै उहाँले केही अधुरो रहेका पूर्वाधारलाई सम्पन्न गर्न प्रदेश पर्यटन मन्त्रालयसँग समन्वय गरेर पालिकाले थप काम गर्ने बताउनुभयो ।
पर्यटन र कृषि रोशीको दृष्टि भन्ने नाराका साथ काम गरिरहेको पालिकाले सम्भावित पर्यटकीय क्षेत्रको विकास गर्नका लागि पूर्वाधार विकासको काम गर्ने, प्रचार प्रसार गर्ने तथा मेला जात्रा लाग्ने ठाउँहरुमा संरक्षण प्रवद्र्धन र स्तरोन्नतीका लागि आवश्यक बजेटको व्यवस्थापन गर्दै आएको लामाले जानकारी दिनुभयो । पालिकामा रहेका पर्यटकीयस्थलहरु बुम्बगाङ-भूमेचुली), ताराखसे लेक, तीनधारे झरनालगायतका पर्यटकीयस्थलको पूर्वाधार विकासका लागि पहुँचमार्ग विस्तार गरिसकेको उहाँ बताउनुहुन्छ ।
बुम्बगाङ सो क्षेत्रको सबैभन्दा अग्लो ठाउँमा भएकाले सो ठाउँबाट अधिकांश हिमालहरु हेर्न सकिने र तराईका विभिन्न भूभाग एवं काठमाडौं उपत्यकाका केही भाग पनि हेर्न सकिने भएकाले सो ठाउँमा आन्तरिक पर्यटक पुग्ने गरेका हुन् । पछिल्लो समयमा विस्तारै सो ठाउँको प्रचार हुन थालेपछि टाढाटाढाका मानिसहरुसमेत त्यहाँ पुग्ने गरेका छन् । अझ सो ठाउँको धार्मिक र सांस्कृतिक पक्षको प्रचार प्रसार गर्न सकेमा पर्यटक तथा दर्शनार्थीको उपस्थिती बढ्ने स्थानीय बासिन्दाहरु बताउँछन् । तर यहाँ बिदेशी पर्यटकहरुको भने उपस्थिती नगन्य छ । यहाँ सबै खाले पूर्वाधारका काम सम्पन्न गर्नका लागि पालिकाले विशेष योजना बनाइरहेको र आगामी दिनमा स्वदेशीका साथै बिदेशी पर्यटकहरुको आगमन बढाउने लक्ष्य रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
