ज्ञानमणि नेपाल कालोटोपी
देवीटार, महाभारत । काभ्रे जिल्लाकै सबैभन्दा विकट मानिने महाभारत गाउँपालिका अब विस्तारै सुगम बन्दै गएको छ । यहाँ निर्माण हुँदै गरेको जनमुक्ती मार्गले यो पालिकालाई सुगम मात्र बनाउँदैछैन, यसबाट अब तराईतिरका जिल्ला जानका लागि पनि सहज हुँदैछ । अझ वागमती प्रदेशको राजधानी हेटौंडा जानका लागि काभ्रे, सिन्धुली, दोलखा र रामेछापका नागरिकले पनि यो छोटो दुरीको मार्ग प्रयोग गर्न सक्ने भएका छन् ।
जनमुक्ती मार्ग अन्तर्गत महाभारतभित्र ४० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको छ । कुल लम्बाइ ८० किलोमिटर रहेको उक्त मार्गका लागि ५ अर्ब लाग्ने अनुमान गरिएको छ । यसले काभ्रेका विशेषगरि महाभारत र खानीखोला गाउँपालिकाहरुका स्थानीयहरुको दैनिकीमा परिवर्तन पनि आउने निश्चित भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा बताउनुहुन्छ ।
सोही गाउँपालिका वडा नम्बर १ गोकुले, थिङटोलकी बेलीमाया थिङ जनमुक्ती मार्गले यहाँको मुहार नै फेरिएको बताउनुहुन्छ । पहिले सदरमुकाम धुलिखेल पुग्न ३ दिनसम्म लाग्ने गरेकोमा अहिले एकै दिनमा पुगेर फर्किन सक्ने भएको उहाँको अनुभव छ । साथै बिरामी हुँदा अस्पताल जान पनि समस्या थियो भने उत्पादित कृषि उपजहरु बजार लैजान नसक्दा त्यतिकै कुहिएर फाल्नु पर्ने अवस्था रहेकोमा अहिले यातायातको सुगमताले बेच्न पाइएको उहाँको भनाइ छ । महाभारतका अध्यक्ष जिम्बाको सक्रियता र पहलमा यहाँका नागरिकको दैनिकी फेरिएको थिङले दाबी गर्नुभयो ।
पालिका परिचय
संघीय संरचना अनुसार बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो पालिका हो । साविकका पाँचवटा गाउँ विकास समितिहरु गोकूले, घर्तिछाप, फोक्सिङटार, बुढाखानी र बनखु मिलेर हालको महाभारत गाउँपालिका बनेको छ ।
वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार यस गाउँपालिकामा जम्मा घर परिवार संख्या ३ हजार १७४ रहेकोमा कूल जनसंख्या १६ हजार ०७९ रहेको छ । जसमा पुरुषको संख्या ७ हजार ८८० र महिलाको संख्या ८ हजार १९९ छ । यस पालिकाको लैङ्गिक अनुपात ९६.११ प्रतिशत छ भने वार्षिक जनसंख्या बृद्धिदर १.२३, जनघनत्व ८६ प्रतिवर्ग किलोमिटर रहेको छ ।
महाभारत गाउँपालिकाको भूगोल २७ डिग्री २० मिनेट उत्तरी अक्षांशदेखि २७ डिग्री २७ मिनेट ३० सेकेन्ड उत्तरी अक्षांशसम्म र ८५ डिग्री ३० मिनेट पूर्वी देशान्तरदेखि ८५ डिग्री ४३ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । आफ्नो छुट्टै भौगोलिक, साँस्कृतिक, सामाजिक, राजनीतिक तथा आर्थिक पहिचान रहेको यस गाउँपालिकामा विशेषगरी तामाङ, मगर, नेवार, बाहुन–क्षेत्री, माझी, दलित, पहरी समुदायका मानिसहरुको बसोबास रहेको छ ।
यस गाउँपालिकाको उत्तरी सीमानामा रोशी गाउँपालिकासँगै पर्यटकीय क्षेत्र भूमीचुली लेक, ताराखसे लेक र चैत्यपानी जस्ता महत्वपूर्ण महाभारत लेकले घेरिएको छ । यस पालिकाको पूर्वी सीमानामा सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका, दक्षिणमा सिन्धुली जिल्लाकै मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँगै महाभारत गाउँपालिकाको सीमानाबाट बगेको कोखाजोर खोला रहेको छ ।
पश्चिममा खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाको सीमानाबाट बग्ने चाउखोलाले घेरिएको छ । यस गाउँपालिकाको उत्तरी सीमानामा प्राकृतिक तथा पर्यटकीयरुपमा रहेको सुन्दर -म्हाबर) लेक समुन्द्र सतहबाट अन्दाजी २ हजार ५०० मिटर उचाईमा रहेको छ । र यस म्हाबर लेकबाट नै अन्ततः यस गाउँपालिकाको नामाकरण महाभारत हुन पुगेको हो ।
जनप्रतिनिधिहरु
०७९ सालको स्थानीय निर्वाचनपछि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा हुनुहुन्छ । यस्तै उपाध्यक्षमा सागर मोक्तान हुनुहुन्छ भने प्रवक्ता कान्छामान जिम्बा हुनुहुन्छ । ८ वटा वडा रहेको यो पालिकाको वडानम्बर १ का अध्यक्ष, प्रवक्ता स्वयं हुनुहुन्छ । यो वडाको जनसंख्या २ हजार १९३ रहेको छ । वडा नम्बर २ मा पदमबहादुर मोक्तान वडा अध्यक्ष हुनुहुन्छ । यहाँ १ हजार ८७२ जनसंख्या रहेको छ ।
यस्तै वडा नम्बर ३ मा कार्साङ लामा वडा अध्यक्ष हुनुहुन्छ । यहाँ १ हजार ९८४ जनसंख्या रहेको छ । वडा नम्बर ४ मा विशाल मोक्तान वडा अध्यक्ष हुनुहुन्छ । यहाँ १ हजार ६२६ जनसंख्या रहेको छ भने विजय राना वडा अध्यक्ष रहनु भएको वडा नम्बर ५ मा १ हजार ९१५ जनसंख्या रहेको छ । वडा नम्बर ६ मा २ हजार २९ जनसंख्या छ । यहाँ रमेशकुमार लुंगेली वडाअध्यक्ष हुनुहुन्छ । वडा नम्बर ७ मा खड्गबहादुर श्रेष्ठ वडाअध्यक्ष हुनुहुन्छ र यहाँको जनसंख्या १ हजार ९५९ रहेको छ । वडा नम्बर ८ मा टंकबहादुर आले वडा अध्यक्ष हुनुहुन्छ । यहाँ पालिकामै सबैभन्दा धेरै २ हजार ५०१ जनसंख्या रहेको छ ।
यस पालिकामा नारायणप्रसाद खनाल प्रमुख प्रशासकीय अधिकृत रहनुभएको छ । महालेखा परिक्षकको कार्यालयले दिएको पछिल्लो तथ्यांकअनुसार यो पालिका देशमै बेरुजु शुन्य भएको पालिका हो ।
पालिकामा ०७४ सालसम्म विजुली वत्तीको सुविधा थिएन । तर अहिले सबै वडामा केन्द्रीय प्रशारणलाइनको विद्युत सेवा पुगेको वडानम्बर १ का वडाध्यक्ष एवं पालिकाका प्रवक्ता कान्छामान जिम्बाले जानकारी दिनुभयो । पालिकामा सजिलो नेट कम्पनीसँग सम्झौता गरेर सरकारी कार्यालय, विद्यालय, गाउँपालिका र वडा कार्यालयमा इन्टरनेटको सुविधा पुगेको छ । विस्तारै पूरै पालिकामा नेटको पहुँच पुर्याउने काम भइसकेको छ ।
शैक्षिक अवस्था
पालिकामा ४९ वटा विद्यालय रहेका छन् । सबै सामुदायिक विद्यालय मात्र रहेको पालिकालाई साक्षर पालिका घोषणा गरिसकिएको छ । उच्च शिक्षा अध्ययनका लागि पालिका बाहिर जानुपर्ने अवस्था रहेको यहाँ तीन वटा विद्यालयमा कक्षा १२ सम्मको अध्ययन गर्न सकिने अवस्था छ । प्राविधिक पढाइ हुने एउटा विद्यालय रहेको यहाँ कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने कार्यक्रम घोषणा भइ कार्यान्वयनमा आइसकेको छ ।
सडक यातायात
पालिकामा पुग्ने सडक पक्की बनाउन बाँकी छ । हाल केही खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । अहिलेसम्म वर्षायाममा भने सहजरुपमा यातायात संचालन गर्न कठिन रहेको र केही वर्षमै यसलाई व्यस्थित बनाउने काम भइरहेको प्रवक्ता जिम्बा बताउनुहुन्छ । पछिल्ला दिनहरुमा महाभारत -डाँडापारी) क्षेत्र ‘समृद्धि’ उन्मुखतातर्फ लम्किएको छ । सडक, विद्युत्, खानेपानी, स्वास्थ्य संस्था र सुविधासम्पन्न विद्यालय भवनको व्यवस्थाले उक्त क्षेत्रलाई केही वर्षदेखि …दुर्गमÚ भन्नसमेत छाडिएको छ ।
डाँडापारिमा दुई गाउँपालिका महाभारत र खानीखोला पर्छन् । संघीय संरचना निर्माणअघि डाँडापारिमा दश गाउँ विकास समिति थिए । महाभारत गाउँपालिकामा नजिकको राजमार्गमार्फत सदरमुकाम जोड्ने पक्की सडक निर्माण भइसकेको छ । उक्त गाउँपालिका विशेषगरी सडकको पहुँचले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल र मुख्य शहर बनेपा तथा पनौती डाँडापारीसँग नजिक भएका छन् । सडकले सामग्री ढुवानीमा सहजता आएपछि अपुग खाद्यान्नलगायत नुन, तेल किन्न घण्टौँको बाटो हिँड्नुपर्ने बाध्यता हाल कथा जस्ता भइसकेका छन् । यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि शहरसम्म जोडिएको छ । यहाँका नागरिक दशकअघिको दुःख–पीडा–बाध्यता सम्झँदै हाल विकसित क्षेत्रको सुविधा उपभोग गरिरहेका पाइन्छन् ।
पछिल्लो समयमा भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, एक घर, एक खानेपानी सहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरणका कारण यहाँका नागरिकको मुहार फेरिएको हो । यहाँका गाउँपालिकाको बस्तीमा विकास निर्माण र नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक निर्माणलाई प्रमुख मानिएको हो ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा स्थानीय नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी दोस्रो चरणको पक्की सडकखण्ड निर्माण अन्तिम चरणमा पुगेको बताउनुहुन्छ । उहाँका अनुसार हाल बीपी राजमार्गदेखि मदन भण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तीछाप–गोकुले–भोर्लेनी सडक -जनमुक्ती मार्ग)को निर्माणमा लागिएको छ भने तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किलोमिटर सडकका लागि करिब ९८ करोड विनियोजन भएकोमा ६० करोड ९७ लाखमा सम्झौता भई निर्माणाधीन अवस्थामा छ ।
यस्तै …एक घर एक खानेपानी धाराÚ अभियान अन्तर्गत सबै नागरिकका घरघरमा खानेपानी पु¥याउने कार्य निर्माणाधीन अवस्थामा रहेको छ । नागरिकको आर्थिक विकासका लागि कृषि उत्पादनमा सहयोगअन्तर्गत चार वर्षदेखि गत आर्थिक वर्षसम्ममा डेढ लाख कफीका बिरुवा रोपिएको अध्यक्ष जिम्बाले जानकारी दिनुभयो । यस वर्ष करिब एक लाख बिरुवा रोप्ने पालिकाको तयारी छ ।
महाभारत गाउँपालिकामा मात्र हाल दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ । महाभारतको भुमेचुली–बुढाखानी–तीनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रे भइरहेको, तिनखुट्टे–देवीटार आठ किलोमिटर सडकखण्ड स्तरोन्नति भइरहेको । तर, निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गर्ने र नियमित कार्य नगरेका कारण योजना ढिला हुने गरेको अध्यक्ष जिम्बको भनाइ छ । दुई कार्यकाल पालिका अध्यक्ष भएर काम गरिसक्नुभएका जिम्बाका अनुसार अहिले सबै वडाहरुमा जम्मा ३७५ किलोमिटर सडक बनाइएको छ । यहाँको जनमुक्ती मार्गका विभिन्न खण्डमा धर्म एस कम्पनीले काम जिम्मा लिएको छ ।
यस्तै विकट क्षेत्रमा सूचीकृत काभ्रेको अर्को खानीखोला गाउँपालिका पनि विस्तारै सुगम बन्दैछ । यस पालिकाको वडानम्बर–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमुना शहर बनाउने योजना थालिएको छ । यसका लागि पहिलो चरणमा बजार क्षेत्र र वरिपरिको सडकलाई पक्की बनाउन थालिएको पालिकाले जनाएको छ । बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणाधीन अवस्थामा रहेको जनमुक्ती मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुङ्गा पनि जोडिएको छ । तालढुङ्गा नमुना शहर निर्माण भएसँगै खानीखोलाका साथै महाभारत गाउँपालिकालाई समेत सहज हुने अपेक्षा गरिएको छ ।
