ज्ञानमणि नेपाल कालोटोपी
महाभारत । चैत २४ गते बिहान आत्मिय मित्र पेमा लामाको फोन आयो । भोलि के छ फुर्सद, समय मिल्छ भने डाँडापारी जाउँ, म चाँजोपाँजो मिलाउँछु । म फुरुङ्ग भएँ, किनकी म अहिलेसम्म नपुगेको ठाउँ थियो यो । समय आफैं मिलेर आउँदैन नि सर । हामीले मिलाउने हो, मैले यही जवाफ दिएँ र महाभारत जाने निधो गरियो ।
चैत २५ गते बिहान ७ बजे म निस्किएँ घरबाट । मौसम त्यति अनुकूल थिएन तैपनि जाने नै भएपछि के ले रोक्छ र भन्ने लाग्यो । हामी जाने भनिएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बासँग रहेछ । उहाँसँग म केही वर्षदेखि परिचित थिएँ । नौलो लागेन, उहाँ पनि एकदमै मिल्ने मान्छे भएकाले हामी सजिलै गन्तव्यमा पुग्नेमा ढुक्क थियौं । हामी करिब ९ बजेतिर बनेपाबाट निस्कियौं । भकुण्डेवेँसी पुगेर खाजा खायौँ र रोशी गाउँपालिका हुँदै महाभारततिर लाग्यौँ ।
साथी पेमाले ती भेगका बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो । उहाँ महाभारतमा पहिले पनि धेरैपटक जानुभएको थियो । साथमा पालिका अध्यक्ष जिम्बा पनि निकै रमाइलो हुनुहुँदोरहेछ । गुरुजीको गाडी चलाइ एकदमै सुरक्षित रहेको थियो । हामी यात्रामा अघि बढ्दै गयौं । महाभारत पुग्न रोशी गाउँपालिकाका धेरै भाग छिचोल्नु पर्ने रहेछ । सडकको अवस्था भने निकै जोखिम थियो । उकालो–ओरालो उस्तै । तैपनि हामी दिउँसो १ बजेतिर महाभारत वडानम्बर ५ मा रहेको गोपेडाँडा पुग्यौं ।
गोपेडाँडा तामाङ समुदायको बाहुल्य भएको गाउँ रहेछ । यहाँ बुद्ध धर्मावलम्बीहरुको संख्या अधिक भएकाले गाउँको केही माथि कोन्ज्योसोम निर्माण हुँदै रहेछ । जसमध्ये एउटा बुद्धको मुर्ति करिब सम्पन्न भइसकेको र अन्य मुर्तिहरु पनि निर्माणको क्रममा रहेको त्यहाँका स्थानीय बुद्धिमान योञ्जनले जानकारी दिनुभयो । हामीले त्यहाँको रिर्पोटिङ गरेर निस्कियौं । केही तल पुगेपछि एउटा खुवा उद्योग रहेछ । त्यहाँको बारेमा पनि केही जानकारी लियौं । स्थानीय उत्पादन, केही व्यक्तिहरुलाई रोजगारी र उत्पादित खुवाको बजारिकरण पनि राम्रै रहेछ । खुवाको मिठो स्वाद लियौं । हाम्रो गन्तव्य अझै पर थियो । पालिका कार्यालयसम्म पुग्ने गन्तव्य थियो, हामी चन्द्र पुलामी मगरको घरमा खाना खाएर कफी खेती गरिरहेका किसानका बारीमा पुग्यौं ।
महाभारत आफैंमा कफी खेतीको हब नै रहेछ । यहाँ वार्षिक ८० टन कफी उत्पादन र निर्यात गरिने र करिब १० करोड आम्दानी हुने पालिका अध्यक्ष जिम्बाले जानकारी दिनुभयो । यो वर्ष करिब १ लाख कफीका बिरुवा रोप्ने तयारीमा पालिका रहेको पनि उहाँको भनाइ थियो । किसानहरु मकै रोप्दै कफी रोप्ने जमिन तयार पारिरहेका थिए । सिमसिम पानी पनि परिरहेको थियो । हामी भिज्दै भए पनि बारीतिर गयौं । किसानहरु निकै मिहेनती रहेछन् । यहाँ तरकारीहरु पनि रोप्ने किसानको संख्या बढ्दै गरेको पाइयो । हामी ४ बजेतिर पालिका कार्यालय पुग्यौं । अध्यक्ष ज्यु मिटिङमा जानुभयो । हामी वरिपरिका दृष्यहरु नियाल्नतिर लाग्यौं ।
मिटिङ सक्दा करिब ७ बजिसकेको थियो । बाहिर निकै हावाहुरी चलिरहेको थियो । पानी पनि पर्न थाल्यो । हामी केहीबेरमा रोकिएला भनेर प्रतिक्षामा बस्यौं । निकैबेरपछि केही कम भयो, हामी बस्ने ठाउँतिर लाग्यौं । करिब ९ बजेको थियो । पालिका अध्यक्ष ज्युले हामी बस्ने कोठाको व्यवस्था पहिले नै मिलाइसक्नु भएको रहेछ । त्यति समस्या भएन । खाना खाएर सुत्न लाग्दा १० बजिसकेको थियो । दिनभरको थकाइ र रमाइलोपनको अनुभव लिँदै सुत्न लाग्यौं । करिब ११ बजेतिर भिषण पानी पर्यो । घरै उडाउला जस्तो हावा लाग्यो, चट्याङ पनि परिरहेको थियो । निकै डर लाग्यो । तैपनि रातको समय कतै जान सक्ने अवस्था थिएन । त्यतिनै बेला विजुलीको लाइन पनि काटियो । रातभरि जस्तै पानी परिरहेको थियो । बिहानीपख रोकिएछ, हामी पनि त्यहि बेलामा निदाएछौं ।
बिहान ७ बजेछ उठ्दा । साथी पेमाले बोलाउनुभयो । …उठौं अब फ्रेस हुनुपर्छ । आज केही कार्यक्रमहरु र केही ठाउँका बारेमा पनि रिपोर्टिङ गर्नुछ ।Ú हस भन्दै म उठेँ । हामी चिया खाएर निस्कियौं, घर्तिछाप र गोकुलेतिर । त्यहाँ पुग्न करिब १ घण्टा जति लाग्यो गाडीमा । पालिकाले निर्माण गर्दै गरेको अस्पतालको निरिक्षण गर्यौं । एसइइ परीक्षा दिइरहेका जनकल्याण मावि र गोकुले माविको अवस्था बुझ्यौं । वडानम्बर १ पूर्णखोप वडा घोषणा कार्यक्रममा पनि सहभागी भयौं । निकै राम्रो लाग्यो । खाना खाएर हामी फेरि देबीटारमा रहेको पालिका कार्यालयमा फर्कियौं । समग्रमा यात्रा रमाइलो भयो ।
२ दिनको महाभारत यात्राका दौरानमा मैले यो निष्कर्ष निकालेँ कि एउटा योग्य नेतृत्व भयो भने जुन ठाउँले पनि मुहार फेर्न सक्ने रहेछ । कान्छालाल जिम्बा २ कार्यकाल पालिका अध्यक्ष भइसक्नु भएको छ । उहाँले नेतृत्व संहाल्दा महाभारतमा राम्ररी हिँड्ने बाटोसमेत थिएन रे । जहाँ अहिले ९ वर्षको अवधिमा ३७५ किलोमिटर सडक खोलिएको छ । धेरैजसो ठाउँमा खानेपानी पुगिसकेको छ । सबै वडाहरुमा विजुली पुगेको छ । मुख्य राजमार्गहरुमा कालोपत्रे पनि गरिएको छ । पालिकालाई नमुना बनाउने अभियान थालिएको छ । यो महाभारतजस्तो भेगका लागि निकै ठूलो कुरा हो ।
कुनै जनप्रतिनिधिले विकासको नमुना हेर्ने हो भने महाभारतबाट पाठ सिक्नुपर्ने देखिन्छ । यहाँ विकासका कामले निरन्तरता पाइरहेका रहेछन् । यो कुरा मनन गर्दै हामी बनेपाका लागि निस्कियौं । बाटोमा आउँदा रमाइला कुराहरु शेयर भए । पालिका अध्यक्षसँग काम कसरी हुने रहेछ भन्ने अनुभवका कुराहरु थाहा भयो । महाभारतको त्यो अविष्मरणीय क्षणलाई क्यामेरामा कैद गर्दै हामी फेरि फर्कने बाचा गर्दै फर्कियौं । ती विषयहरु हामीले समाचारका रुपमा उतारिरहेका छौं । त्यहाँका नागरिकहरुलाई साथी बनाएका छौं । अब हाम्रा लागि महाभारत त्यति दूर रहेन ।
