पनौती । तरकारी उत्पादनको प्रमुख पकेट क्षेत्र काभ्रेको पनौती नगरपालिकामा तरकारी खेतीसम्बन्धी एक दिने स्थलगत तालिम सम्पन्न भएको छ । बुधबार नगरपालिकाको वडानम्बर ८ खरिबोटमा तालिम सम्पन्न भएको हो

पनौती नगरपालिकाको कृषि शाखाको प्राविधिक तथा आर्थिक सहयोग र मध्यमार्ग कृषि सहकारीको समन्वयमा तालिम भएको थियो । जसमा २५ जना किसानहरुको सहभागिता रहेको मध्यमार्ग कृषि सहकारीका अध्यक्ष प्रदीप केसी बञ्जाराले जानकारी दिनुभयो ।

कार्यक्रममा किसानहरुलाई शत्रु जीव र मित्रु जीवका बारेमा जानकारी दिँदै बालीमा विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा सिकाइएको थियो । नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायकहरु बीना भण्डारी र सर्मिला कार्कीले सहभागीहरुलाई तालिम प्रदान गर्नुभएको थियो । उहाँहरुले किसानहरुका बालीहरुको निरिक्षण गर्दै आवश्यक सरसल्लाहहरु पनि प्रदान गर्नुभयो ।

किसानहरुले पनि खेती गर्दाका अनुभवहरु शेयर गर्दै आफ्ना समस्याहरु खुलेर राखेका थिए । उनीहरुले आफ्ना खेतबारीमै आएर समस्या समाधानमा सहजीकरण गर्न अनुरोध गरे । कृषिमा आएका समस्याहरुका बारेमा नगरपालिका वा वडामार्फत जानकारी गराउन र आवश्यक परे फोन गर्न पनि प्राविधिकहरुले किसानसँग आग्रह गरेका थिए ।

यस्ता कार्यक्रमहरुले किसानहरुमा जनचेतना जगाउने र खेती गर्ने तरिका सिकाउने काम गर्ने सहभागीहरुले बताएका थिए । कार्यक्रममा पनौती ८ की कृषक सरिता बञ्जाराले आफूले पहिले पनि यस्तो तालिम लिएको र अहिलेको तालिमले पनि थप सहयोग गरेको बताउनुभयो । यस्तै कृष्ण बञ्जारा र महेश्वर बञ्जाराले आफूले सिकेको सीप अरु किसानहरुलाई पनि सिकाउने बताउँदै बेलाबेलामा नगरपालिकाले किसानका समस्या सुन्ने कार्यक्रम राख्नुपर्ने माग गर्नुभयो । उहाँहरुले स्थानीय तह किसानको नजिकको सरकार भएकाले किसानहरुको हरेक समस्यामा पालिकाले ध्यान दिनुपर्ने धारण राख्नुभएको थियो ।

सो अवसरमा सहभागी किसानहरुलाई जैविक मलहरुको प्रयोगबारे सिकाउँदै उनीहरुलाई मल पनि वितरण गरिएको थियो । कार्यक्रममा वडानम्बर ८ का वडाध्यक्ष बेदप्रसाद बञ्जारालगायत वडाका अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुको पनि उपस्थिती थियो । वडाध्यक्ष बञ्जाराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *