काभ्रे । काभ्रेकाे बेथानचोक गाउँपालिकामा आइतबार बिदा नदिइने र वैशाख १३ गतेदेखि विद्यालय खुलाउने निर्णय भएकाे छ ।
गाउँपालिकाले गुणस्तरीय शिक्षा अभियान अन्तर्गत पालिकाभरिका सबै शिक्षकहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम गर्दै आइतबार साे निर्णय गरेकाे हाे ।
कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न समसामयिक विषयहरुमाथि छद्यफल भएकाे र यसबाट थप केही महत्वपूर्ण निर्णयहरु भएका पालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयाे ।
उहाँले दिनुभएकाे जानकारी अनुसार सरकारले शनिबार र आइतबार बिदा दिने भनेपनि पालिकामा आइतबार पनि नियमित कक्षा सञ्चालन हुने भएकाे छ । यसैगरि सरकारले विद्यालय भर्ना अभियान वैशाख १५ देखि र पढाइ शुरु वैशाख २१ देखि गरिने निर्णय गरेकाे छ । तर पालिकाले भने वैशाख १३ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेकाे छ ।
यसैगरि पाठ योजना (Lesson Plan) बाट नै काम शुरु गर्ने र सीपमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्न सबै शिक्षकहरूले साझा प्रयास गर्ने निर्णय भएकाे छ ।
यो निर्णयले बेथानचोक गाउँपालिकाको शिक्षालाई थप व्यवस्थित, अनुशासित र गुणस्तरीय बनाउने अध्यक्ष अधिकारीकाे अपेक्षा छ । यसले विद्यार्थीहरूको सिकाइ उपलब्धीमा सकारात्मक प्रभाव पर्ने उहाँकाे विश्वास छ ।
आइतबार पालिकाकाे सभा हलमा भएकाे कार्यक्रममा शिक्षाविदहरु प्रा डा विद्यानाथ कोइराला, शिक्षा मन्त्रालयका सचिवको जिम्मेवारीसमेत सम्मालिसक्नुभएका डा हरि लम्साल, पूर्वमहानिर्देशक दिपक शर्मा, डा बलराम तिमल्सिनालगायत पालिकाका विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षक शिक्षिकाहरु तथा पालिकाका जनप्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे ।
