पनाैती । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था पनाैती सेवा कार्यालयको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३७ जना रक्तदाताहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरे । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो ।
मानव जीवन बचाउन रक्तदान महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै आयोजक संस्थाले समुदायमा मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा समाजसेवी, सहकारीकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा सहभागी दाताहरूले “रक्तदान जीवनदान” भन्ने सन्देशलाई आत्मसात गर्दै स्वेच्छिकरूपमा रक्तदान गरेका थिए ।
सेवा कार्यालयका संयोजक रमेश जंगमले रक्त अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम नियमितरूपमा सञ्चालन गरिने बताउनुभयो । रक्तदान गर्ने सम्पूर्ण दाताहरूलाई आयोजक संस्थाको तर्फबाट प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले एक थोपा रगतले कसैको अमूल्य जीवन बचाउन सक्ने भएकाले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।
आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा, स्वयंसेवक, सहभागी तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी काभ्रे शाखाका उपमन्त्री प्रदिप के. सी. बञ्जारा र नि. सभापति रघुनाथ हुमागाईले प्रमाणपत्र बितरण गर्नुभएकाे थियाे ।
