धुलिखेल । काभ्रेको महाभारत गाउँपालिकाले यो पटक पनि शून्य बेरुजु कायम गर्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो ६३औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो । प्रतिवेदन अनुसार गाउँपालिकामा १ अर्ब १३ करोड ७१ लाख ९० हजारको लेखा परीक्षण गर्दा शून्य बेरुजु देखिएको हो ।

गत वर्ष पनि पालिकाको १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखा परीक्षण गर्दा देशकै शून्य बेरुजु भएको एक मात्र पालिका भएको थियो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार विगत तीन वर्षयता पालिकाको बेरुजु शून्य छ । जिम्बाले देशभरिमै आफ्नो गाउँपालिका एक मात्र शून्य बेरुजु भएको पालिका भएको दाबी गर्नुभयो । यसका लागि सहयोग गर्नुहुने सबैमा उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।

कुन पालिकामा कति बेरुजु ?
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा महाभारत गाउँपालिकामा १ अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरिक्षण गरिएको थियो । त्यसमा एक रुपैयाँ पनि बेरुजु देखिएको छैन । यस्तै मण्डनदेउपुर नगरपालिकामा एक अर्ब ९७ करोड २० लाख ३७ हजार रुपैयाँको लेखापरिक्षण भएकोमा शुन्य दशमलव शून्य पाँच प्रतिशत अर्थात् १० लाख ४९ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको छ ।

यता पाँचखाल नगरपालिकामा शून्य दशमलव १ प्रतिशत बेरुजु देखिएको छ । पाँचखालमा एक अर्ब ८६ करोड ७६ लाख २३ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १८ लाख ३२ हजार मात्रै बेरुजु देखिएको हो ।

जिल्लाका १३ पालिकामध्ये ११ पालिकामा एक प्रतिशत भन्दा कम बेरुजु देखिएको छ । जसमा बनेपा नगरपालिकामा एक अर्ब ५९ करोड ८५ लाख ९२ हजार रुपैयाँको लेखापरीक्षण हुँदा एक करोड १२ लाख ७७ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ७१ प्रतिशत रकम बेरुजु देखिएको छ । धुलिखेल नगरपालिकामा २ अर्ब एक करोड ७५ लाख ८६ हजारको लेखा परीक्षण हुँदा शून्य दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ । यो पालिकामा बेरुजु रकम १ करोड ३७ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

रोशी गाउँपालिकामा एक अर्ब ७६ करोड ५७ लाख ७९ हजार रुपैयाँको लेखापरिक्षण हुँदा शून्य दशमलव ६२ प्रतिशत अर्थात् एक करोड १० लाख १२ हजार रुपैयाँ बेरुजु देखिएको छ भने भुम्लु गाउँपालिकामा पनि शून्य दशमलव ६८ प्रतिशत रकम बेरुजु देखिएको छ । भुम्लुमा एक अर्ब ४१ करोड ९३ लाख १९ हजारको लेखापरिक्षण हुँदा ९४ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

बेथानचोक गाउँपालिकामा शुन्य दशमलव ५५ प्रतिशत बेरुजु देखिएको छ । यहाँ एक अर्ब ४७ करोड ८८ लाख ४८ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ८१ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यसैगरी खानीखोला गाउँपालिकामा ८६ करोड ९५ लाख ५१ हजारको लेखापरिक्षण हुँदा शून्य दशमलव ५८ प्रतिशत अर्थात ५० लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको छ । तेमाल गाउँपालिकामा १ अर्ब ३२ करोड ४३ लाख २८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा शुन्य दशमलव ५ प्रतिशत अर्थात ६५ लाख ९३ हजार बेरुजु देखिएको छ ।

उता चांैरीदेउराली गाउँपालिकामा एक अर्ब ४३ करोड ७५ लाख ७ हजार रुपैयाँको लेखापरीक्षण हुँदा शून्य दशमलव १८ प्रतिशत अर्थात् २५ लाख ५८ हजार बेरुजु देखिएको छ ।

जिल्लामा सबैभन्दा बढी बेरुजु पनौती नगरपालिकामा देखिएको छ । पनौती नगरपालिकामा दुई अर्ब ५३ करोड ७९ लाख ९९ हजार रुपैयाँको लेखापरीक्षण भएकोमा ३ दशमलव शून्य ४ प्रतिशत अर्थात् ७ करोड ७० लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ । नमोबुद्ध नगरपालिकामा एक अर्ब ८४ करोड ३६ लाख ४१ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १.३८ प्रतिशत अर्थात् दुई करोड ५४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको महालेखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *