पनाैती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई श्रम, सीप र उद्यमशीलताबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले ‘कामको संसार चिनाउने’ अभियान सम्पन्न गरिएको छ ।

विद्यालयले आयोजना गरेको उक्त अभियानमार्फत विद्यार्थीहरूलाई काम के हो, काम कसरी गरिन्छ तथा उत्पादन गरिएका वस्तु तथा सेवाहरूलाई कसरी बजारिकरण गर्ने भन्ने विषयमा व्यावहारिक सिकाइ प्रदान गरिएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद तिमल्सिनाका अनुसार कार्यक्रमका लागि १० वटा समूह गठन गरी विभिन्न सीपमूलक गतिविधिमा सहभागी गराइएको थियो । अभियानको समापनका अवसरमा बुधबार विद्यार्थीहरूले आफैंले तयार गरेका विभिन्न खाना तथा परिकारका स्टलहरू सञ्चालन गरेका थिए । स्टल व्यवस्थापन तथा सामग्री तयारीका लागि विद्यालयले प्रत्येक समूहलाई तीन हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाका अनुसार कार्यक्रममा कक्षा १० मा अध्ययनरत ११३ जना विद्यार्थी सहभागी भएका थिए । पहिलो पटक सञ्चालन गरिएको यस अभियानले विद्यार्थीहरूमा श्रमप्रतिको सम्मान, उद्यमशील सोच तथा समूहमा काम गर्ने क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । विद्यालयले आगामी वर्षहरूमा पनि यस्ता व्यवहारिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *