बनेपा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई बनेपा नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले शिक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालयलाई नगदसहित प्रशंसापत्र प्रदान गर्दै शैक्षिक उपलब्धिको कदर गरेको हो ।
नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सफल विद्यार्थीहरूको उत्साह, अभिभावकको गर्व र शिक्षकहरूको खुसीले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
यस वर्ष बनेपाबाट ६ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये दुई जना सामुदायिक विद्यालय र चार जना संस्थागत विद्यालयका विद्यार्थी रहेका छन् । नगरपालिकाले उनीहरूलाई जनही १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र सम्मानपत्र प्रदान गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाक्यले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत घटेकाले आगामी दिनमा अझ बढी जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । “हामीले अपेक्षा गरेअनुसारको नतिजा अझै हासिल गर्न सकेका छैनौँ, त्यसैले आगामी वर्ष थप मेहनत र सुधार आवश्यक छ,” उनले भने ।
उपप्रमुख विमला सापकोटाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको प्रशंसा गर्दै अनुशासन, निरन्तर मेहनत र लगनशीलताले सफलता सम्भव हुने बताइन् । उनले यस्तो सम्मानले अन्य विद्यार्थीलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले, शिक्षा शाखा प्रमुख उपसचिव देवराज निरौला, प्याब्सनका केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल तथा चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय का प्रधानाध्यापक श्यामप्रसाद पाण्डे लगायतले सम्मान कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र थप उत्साह सिर्जना गर्ने धारणा राखेका थिए ।
नगरपालिकाका अनुसार यस वर्ष बनेपाका १९ वटा संस्थागत र तीन वटा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् । उत्कृष्ट नतिजा ल्याउने ती विद्यालयलाई पनि विशेष सम्मान गरिएको थियो ।
