काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोट अस्पतालमा भएको परिवार नियोजन शिविरमा १ सय २४ जनाले सेवा लिएका छन् ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना, नेपाल परिवार नियोजन संघ काभ्रेपलाञ्चोक शाखा बनेपाको प्राविधिक सहयोग र नमोबुद्ध नगरपालिकाको समन्वयमा भएको शिविरमा ७ जनाको स्थायी बन्ध्याकरण, ७ जनालाई लामो अवधिको परिवार नियोजनको अस्थायी साधन राखिएको र ६ जनाको इम्प्लान्ट निकालिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।
परिवार नियोजन अधिकृत पद्मराज कैनीका अनुसार, शिविरमा ६५ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ । पाठेघरको समस्या, यौनरोग र स्त्रीरोगसम्बन्धी परामर्शसहित १ सय २४ जनालाई सेवा दिइएको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख सुनिल केसीले जानकारी दिए । शिविरमा निःशुल्क औषधीसमेत वितरण गरिएको थियो ।
धुलिखेल अस्पतालका डा सानुकृष्ण श्रेष्ठ, डा विराट आचार्य लगायतका चिकित्सक, मेथिनकोट अस्पतालका साथै नेपाल परिवार नियोजन संघ काभ्रे शाखाका स्वास्थ्य जनशक्तिले सेवा दिएका थिए । कार्यालयले यसअघि महाभारत गाउँपालिका र पाँचखाल नगरपालिकामा शिविर सञ्चालन गरेको थियो ।
