पनौती। पनौती नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा नगरवासीलाई सहज, गुणस्तरीय तथा पहुँचयोग्य आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रेयुकाई एइको मासुनागा आँखा अस्पताल, बनेपासँग सम्झौता गरेको छ ।
नगर प्रमुख रामशरण भण्डारी र रेयुकाई एइको मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माको उपस्थितिमा सम्पन्न सम्झौताअनुसार पनौती नगरपालिकाभित्रका नागरिकले मोतिविन्दु तथा आँखाको पर्दा (रेटिना) सम्बन्धी रोगहरूको निःशुल्क परीक्षण र उपचार सेवा प्राप्त गर्नेछन् ।
सम्झौताअनुसार समुदाय तथा विद्यालयस्तरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिने, दृष्टिदोष भएका विद्यार्थी तथा आवश्यक सेवाग्राहीलाई निःशुल्क चश्मा वितरण गरिने तथा आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । यसबाट बालबालिका, ज्येष्ठ नागरिक तथा आर्थिकरूपमा विपन्न नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, पनौती नगरपालिका–७ स्थित पनौती स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार निःशुल्क आँखा उपचार क्लिनिक सञ्चालन गरिनेछ । क्लिनिकमा विशेषज्ञ चिकित्सकबाट आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिनुका साथै थप उपचार आवश्यक पर्ने बिरामीलाई रेयुकाई एइको मासुनागा आँखा अस्पतालमा रेफर गरिने व्यवस्था मिलाइएको छ ।
सम्झौतापछि नगर प्रमुख रामशरण भण्डारीले स्थानीय तहबाट नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको प्रतिबद्धताअनुसार आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले यस सहकार्यबाट नगरवासीले समयमै आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गर्ने र अन्धोपन न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । अस्पतालका महासचिव हिरामणि शर्माले पनौती नगरपालिकासँगको सहकार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समुदायसम्म विशेषज्ञ आँखा सेवा पुर्याइने बताउनुभयो । उहाँले मोतिविन्दु, रेटिनासम्बन्धी तथा अन्य आँखा रोगको समयमै पहिचान र उपचारमार्फत नागरिकको आँखाको स्वास्थ्य संरक्षणमा अस्पताल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच भएको यो सहकार्यले नगरवासीलाई आफ्नै स्थानीय तहमा नियमित तथा विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा यो कार्यक्रम महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ ।
