नमोबुद्ध, भकुण्डेबेँसी । काभ्रेको नमोबुद्ध नगरपालिका–स्थित मेथिनकोट अस्पतालमा एकै दिन हाडसम्बन्धी जटिल शल्यक्रिया र आकस्मिक प्रसूति शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालमा असोज ६ गते मंगलबार ३९ वर्षीय पुरुषको बायाँ हातको नाडी नजिकको रेडियस हड्डी (Distal Radius) धेरै टुक्रिएर भाँचिएको अवस्थामा शल्यक्रिया गरिएको हो । आवश्यक परीक्षण तथा चिकित्सकीय मूल्याङ्कनपछि भाँचिएको हड्डीलाई सही स्थानमा मिलाएर लकिङ प्लेटमार्फत आन्तरिक स्थिरीकरण गरिएको अस्पतालले जनाएको छ ।
अर्थोपेडिक शल्यक्रिया अन्तर्गत गरिएको Open Reduction and Internal Fixation with Locking Plate सफलतापूर्वक सम्पन्न भएको हो । शल्यक्रियामा चिकित्सकद्वय डा. प्रणेश र डा. विजय सहभागी हुनुहुन्थ्यो । एनेस्थेसियातर्फ राधेश्याम शाह, स्टाफ नर्स अर्चना, सर्कुलेटिङ नर्स चाँदनी, C-Arm मा मनोज पौडेल तथा का.स. पदम श्रेष्ठको सहभागिता रहेको थियो ।
यसैगरी सोही अस्पतालमा ३८ वर्षीया गर्भवती महिलाको आकस्मिक प्रसूति शल्यक्रिया (Emergency LSCS) समेत सफलतापूर्वक सम्पन्न भएको छ । G3P2L2 अवस्थाकी ३७ हप्ता ५ दिनको गर्भावस्थामा रहेकी ती महिलामा गर्भावस्थाजन्य उच्च रक्तचाप (Gestational Hypertension) तथा Placenta Previa को समस्या देखिएपछि आकस्मिक रूपमा शल्यक्रियामार्फत प्रसूति गराइएको अस्पतालले जनाएको छ ।
प्रसूति शल्यक्रियामा मुख्य शल्य चिकित्सक डा. रचना, सहायक शल्य चिकित्सकद्वय डा. अनन्त र डा. शिशिर सहभागी हुनुहुन्थ्यो । नवजात शिशुको उपचार तथा हेरचाहका लागि बालरोग विशेषज्ञद्वय डा. विवेक र डा. शेष्नाको सहभागिता रहेको थियो । त्यसैगरी एनेस्थेसियामा राधेश्याम, स्टाफ नर्स शर्मिला, सर्कुलेटिङ नर्स चाँदनी तथा का.स. मनोज पौडेलले जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
अस्पतालका अनुसार दुवै शल्यक्रिया सम्बन्धित चिकित्सक, नर्सिङ तथा प्राविधिक टोलीको समन्वय र सहकार्यमा सफलतापूर्वक सम्पन्न भएका हुन् । स्थानीयस्तरमै हाडजोर्नी तथा शल्यक्रिया सेवा र जटिल अवस्थाका गर्भवतीलाई आकस्मिक प्रसूति सेवा उपलब्ध हुनुले जिल्लाको ग्रामीण तथा अर्धशहरी क्षेत्रका बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अस्पतालको अपेक्षा छ । अस्पताल परिवारले दुवै शल्यक्रिया सफल बनाउन सहयोग गर्ने अर्थोपेडिक, प्रसूति तथा शल्यक्रिया कक्ष (OT) का सम्पूर्ण स्वास्थ्यकर्मी एवं कर्मचारीप्रति आभार व्यक्त गरेको छ ।
