ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलले आर्थिक वर्ष २०८२/०८३ मा खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लालाई कार्यक्षेत्र बनाएर खाद्य तथा दाना उद्योगको नियमन, बजार अनुगमन, नमुना परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहत रहेको उक्त डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा दाना पदार्थ ऐन, २०३३ को प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै उत्पादनदेखि बिक्री–वितरणसम्मको खाद्य श्रृंखलामा नियमित निगरानी गरेको जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्षभर १०० पटक खाद्य बजार अनुगमन, ११६ पटक खाद्य उद्योग निरीक्षण, ५० पटक होटल तथा रेष्टुरेन्ट अनुगमन, १२ पटक दाना बजार अनुगमन तथा ८ पटक हाटबजार तथा मेला–महोत्सव अनुगमन सम्पन्न गरिएको छ । यस अवधिमा १८७ वटा खाद्य नमुना, १२ वटा दाना संकलन गरिएको उल्लेख छ । त्यसैगरी २५ पटक खाद्य सुरक्षा आपत्कालीन प्रतिक्रिया -ःयलष्तयचष्लन बलम क्ष्लकउभअतष्यल) सञ्चालन गरिएको छ भने १३ वटा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित उजुरी तथा गुनासोको सम्बोधन गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले होटल, होस्टेल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकलाई दुई पटक खाद्य स्वच्छता तालिम प्रदान गरेको छ । नसर्ने रोग न्यूनीकरणका लागि स्वस्थ खानपानसम्बन्धी सचेतना कार्यक्रम, खाद्य स्वच्छता दिवस, खाद्य तथा दाना महिना, प्रदर्शनी तथा महोत्सवमा सहभागिता, होटल स्तरीकरण तथा नवीकरण, सडक किनारामा बिक्री हुने खाद्य पदार्थको स्वच्छता अध्ययन तथा फलफूलमा प्रयोग हुने Monitoring and Inspection को प्रयोगसम्बन्धी अनुगमनसमेत सम्पन्न गरिएको कार्यालय प्रमुख मनिषा चापागाइँले जानकारी दिनुभएको छ ।

यस्तै, स्थानीय तहसँगको समन्वयमा स्ट्रीट फुडको स्वच्छता, खाद्य पदार्थसँग प्रत्यक्ष सम्पर्कमा आउने कागजको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै खाद्य तथा दाना उद्योगीलाई निःशुल्क प्राविधिक परामर्श सेवा उपलब्ध गराइएको छ । उद्योग स्थापना, अनुमति तथा नवीकरणका लागि आवश्यक प्राविधिक सहजीकरणलाई समेत कार्यालयले निरन्तरता दिएको जनाएको छ ।

डिभिजन कार्यालयमा कार्यालय प्रमुख, खाद्य निरीक्षण अधिकारी तथा कार्यालय सहयोगीसहित सीमित जनशक्ति रहे पनि वार्षिक कार्ययोजनाअनुसार निरीक्षण, अनुगमन, नमुना संकलन, प्रयोगशाला परीक्षण, जनचेतना अभिवृद्धि तथा नियामक कार्यलाई निरन्तर सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयका अनुसार आगामी वर्षमा खाद्य सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने, बजार अनुगमनलाई प्रविधिमैत्री बनाउने, उद्योग तथा व्यवसायीको क्षमता अभिवृद्धि गर्ने, उपभोक्तामा खाद्य स्वच्छतासम्बन्धी जनचेतना विस्तार गर्ने तथा खाद्यजन्य जोखिम न्यूनीकरणका कार्यक्रमलाई थप प्रभावकारीरूपमा कार्यान्वयन गरिने लक्ष्य राखिएको छ ।

उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने सरकारी अभियानलाई प्रभावकारी बनाउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलले आफ्नो कार्यक्षेत्रभित्र नियमन, निरीक्षण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *