आर्थिक वर्ष २०८२/०८३ मा नेपालमा हराएका ८ हजार ७२४ बालबालिकामध्ये ८ हजार ४३८ जना फेला परेका छन् । बालबालिका खोजतलास समन्वय केन्द्र -१०४) का अनुसार हराएका बालबालिकाको खोजी, उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्य निरन्तर भइरहेको छ ।
केन्द्रको वार्षिक संख्यात्मक विवरणअनुसार उक्त अवधिमा हराएका बालबालिकामध्ये ८ हजार ४३८ जना फेला परेका छन् भने २८६ जनाको खोजतलास जारी रहेको छ । हराएका बालबालिकाको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय र सरोकारवाला संस्थाहरूले समन्वय गर्दै आएका छन् ।
बालबालिका हराउने समस्या मात्र नभई बेवारिसे अवस्थामा फेला परेका, सडकमा आश्रित जीवन बिताइरहेका तथा जोखिमपूर्ण श्रममा संलग्न बालबालिकाको उद्धार र संरक्षणमा समेत केन्द्रले काम गर्दै आएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा ३८४ जना बेवारिसे बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २९५ जनाको पारिवारिक पुनर्मिलन गरिएको छ भने ७९ जना संरक्षणमा रहेका छन् । त्यस्तै, अस्थायी संरक्षण गृहबाट १० जना बालबालिका आफूखुशी हिँडेको विवरणमा उल्लेख छ ।
सडकमा आश्रित अवस्थामा रहेका बालबालिकाको उद्धारतर्फ पनि उल्लेख्य काम भएको छ । सो अवधिमा सडकमा आश्रित रहेका १८६ जना बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ८१ जनाको पारिवारिक पुनर्मिलन, ९८ जना संरक्षणमा र ७ जना अस्थायी संरक्षण गृहबाट आफूखुशी हिँडेका विवरणमा उल्लेख छ ।
यसैगरी जोखिमपूर्ण श्रममा संलग्न रहेका बालबालिकाको उद्धार तथा संरक्षणमा पनि केन्द्रले काम गर्दै आएको छ । आर्थिक वर्ष २०८२/०८३ मा जोखिमपूर्ण श्रममा संलग्न रहेका ४५ जना बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३२ जनाको पारिवारिक पुनर्मिलन गरिएको छ भने १३ जना संरक्षणमा रहेका छन् ।
बालबालिका हराउनुका पछाडि पारिवारिक समस्या, अभिभावकको निगरानीको कमी, सामाजिक तथा आर्थिक अवस्था, घरबाट भाग्ने प्रवृत्ति लगायतका विभिन्न कारण हुन सक्ने भएकाले बालबालिकाको सुरक्षामा परिवार, विद्यालय, समुदाय र राज्यका निकाय सबै सचेत हुनुपर्ने देखिन्छ ।
बालबालिका हराएको अवस्थामा समयमै खोजी सुरु गर्न सके सुरक्षित रूपमा फेला पार्ने सम्भावना बढी हुने भएकाले अभिभावक तथा सर्वसाधारणलाई तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ । बालबालिका हराएमा वा कुनै बालबालिका जोखिमपूर्ण अवस्थामा रहेको देखेमा बालबालिका खोजतलास समन्वय केन्द्रको निःशुल्क टोल फ्रि नम्बर १०४ मा सम्पर्क गर्न सकिन्छ । बालबालिकाको सुरक्षा केवल परिवारको जिम्मेवारी नभई राज्य, समुदाय र प्रत्येक नागरिकको साझा दायित्व भएकाले जोखिममा रहेका बालबालिकाको पहिचान, उद्धार, संरक्षण र परिवारमा पुनर्मिलनका लागि सबै पक्षको सक्रिय सहयोग आवश्यक देखिएको छ ।
