काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक वृद्ध दम्पती सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएको घटनाले यतिबेला सिङ्गो समाजलाई स्तब्ध बनाएको छ । घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय समुदायसम्म अनेकौं प्रश्न उठिरहेका छन् । तर, ती प्रश्नहरूको उत्तर भने अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिएको छ ।
प्रहरीका अनुसार गत साउन २० गते साँझ मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फाली बेपत्ता भएका हुन् । प्रारम्भिक जानकारीअनुसार तिलकुमारी पराजुली लामो समयदेखि बोन म्यारोबाट पीडित तथा अपाङ्ग अवस्थामा रहेकी थिइन् । स्थानीयका अनुसार श्रीमतीलाई श्रीमानले पिठ्युँमा बोकेर नदीसम्म पुगेको दृश्यले धेरैलाई भावुक बनाएको छ । तर, उनीहरूले यस्तो निर्णय किन लिए भन्ने विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यसुहरि अधिकारीको कमाण्डमा तथा प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीले सोही दिनदेखि नै खोजी अभियान सञ्चालन गरेका थिए । ५ दिनपछि सिन्धुलीको सुनकोशी नदी किनारमा तिलकुमारीको शव भेटियो तर केदारनाथको केही पत्ता लागेन । परिवारले कुशको शव बनाएर दाहसंस्कार गरे ।
पराजुली दम्पती किन यस्तो अवस्थामा पुगे, उपचारको कठिनाइ, मानसिक पीडा, आर्थिक अवस्था, पारिवारिक परिस्थिति वा अन्य कुनै कारण थियो कि भन्ने विषयमा अहिले विभिन्न अनुमान भइरहेका छन् । तर, यी सबै विषय अनुसन्धानको निष्कर्ष नआएसम्म अनुमानकै दायरामा सीमित छन् ।
यो दुःखद घटनाले दीर्घरोगसँग जुधिरहेका नागरिक, ज्येष्ठ नागरिकको हेरचाह, मानसिक स्वास्थ्य, पारिवारिक सहयोग र सामाजिक सुरक्षा प्रणालीबारे गम्भीर बहस सुरु गराएको छ । भविष्यमा यस्ता हृदयविदारक घटना दोहोरिन नदिन राज्य, समाज र परिवार सबै पक्षले आवश्यक संवेदनशीलता र जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको छ ।
यो एउटा प्रतिनिधी घटना मात्र हो । यसले धेरै विषयहरुको उठान गरेको छ । के हाम्रो समाजमा मानवीयता हराएको हो त ? वा गरिब र दीर्घरोगीहरुका लागि राज्यको केही कर्तव्य छैन त ? अनि कहिलेसम्म पराजुली दम्पतीजसरी मृत्युवरण गरिरहनु पर्ने हो ? हामीले गम्भीर हुनै पर्छ । यस्ता घटनाहरु आगामी दिनहरुमा नदोहोरिउन् ।
