पाँचखाल । पाँचखाल नगरपालिका–४ स्थित स्वेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाको समापन कार्यक्रम भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका कोषाध्यक्ष अर्जुनप्रसाद सापकोटा प्रमुख स्रोत व्यक्तिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा उच्च अदालत पाटनका नापी अधिकृत रामेश्वर ढुंगाना विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा ग्रामीण महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष इन्दिरा गौतम तथा प्रबन्धक मनोजकुमार श्रेष्ठ, प्रतिष्ठा कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर थापा तथा प्रबन्धक सुमन बानियाँ, पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदार लुइटेल तथा प्रबन्धक बुद्धिकृष्ण बोलखेलगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा नवसंकेत अनलाइन खबरका प्रधान सम्पादक ईश्वरीराजकुमार मैनालीको उपस्थिति रहेको थियो ।
सदस्य निराजनलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा उपस्थित अतिथिहरूले संस्थाको प्रगति, सदस्यकेन्द्रित सेवा तथा भावी योजनाका विषयमा शुभकामना व्यक्त गर्नुभएको थियो। संस्थाका सचिव गणेश दनुवारले आगामी आर्थिक वर्षका लागि भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थालाई थप सबल, व्यवस्थित तथा सदस्यकेन्द्रित बनाउँदै लैजाने उद्देश्यसहित विभिन्न योजना तथा कार्यक्रम अघि सार्नुभएको थियो।
त्यसैगरी लेखा समितिबाट वार्षिक प्रगति प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रम, कोषाध्यक्ष सुनील सापकोटाबाट आगामी बजेट तथा आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। संस्थाका गतिविधि, प्रगति, उपलब्धि तथा भावी योजनालाई डिजिटल प्रविधिको प्रयोगमार्फत समेत प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।
साधारणसभाको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा संस्थाको विकास तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने आठ जना सदस्यलाई सम्मान गरिएको थियो। सदस्यहरूको योगदानको कदर गर्दै गरिएको सम्मानले आगामी दिनमा अझ सक्रिय र जिम्मेवार भएर सहकारीमा योगदान गर्न प्रेरणा मिल्ने संस्थाले जनाएको छ।
कार्यक्रममा प्रमुख स्रोत व्यक्ति सापकोटासहित उपस्थित अतिथिहरूले संस्थाले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै सदस्यकेन्द्रित सेवा, पारदर्शिता, सुशासन, प्रविधिको प्रयोग तथा आर्थिक अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिनुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष सुनील सापकोटाले गर्नुभएको थियो।
