पनौती । किसान केन्द्रित भएर कृषि क्षेत्रमा सहकार्य गर्दै आएको मध्यमार्ग कृषि सहकारी संस्थाको वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रदीप केसी बञ्जाराको अध्यक्षतामा सम्पन्न साधारणसभामा सहकारीको गतिविधि, किसानसँगको सहकार्य तथा आगामी कार्ययोजना लगायतका विषयमा चर्चा गरिएको थियो ।

१४७ जना सदस्य रहेको मध्यमार्ग कृषि सहकारीले आफ्ना सदस्य किसानलाई लक्षित गर्दै विभिन्न समयमा कृषि सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ । सदस्यहरूले मासिक दुई सय रुपैयाँ बचत गर्दै सहकारीमार्फत कृषि क्षेत्रमा आवश्यक विभिन्न सहयोग प्राप्त गर्दै आएका छन् ।

किसानसँग प्रत्यक्ष जोडिएर काम गरिरहेको सहकारीले कृषकलाई आवश्यक पर्ने रासायनिक मलदेखि कृषियन्त्रसम्म उपलब्ध गराउँदै आएको छ। काभ्रेको पनौती नगरपालिका–४ र ८ का कृषकलाई लक्षित गरी सहकारीले ट्याक्टर, साना तथा ठूला टनेल, स्प्रे, मल्चिङलगायतका कृषि सामग्री वितरण गर्दै आएको जनाएको छ। समुदायस्तरमा कृषि प्रविधि, कृषि प्राविधिक तथा बजार व्यवस्थापनका विषयमा योजनाबद्ध रूपमा काम गर्दै आएको सहकारीले कृषिको यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरणमा समेत किसानलाई साथ दिइरहेको छ ।

सहकारीका अध्यक्ष बञ्जारा स्वयं किसान भएकाले किसानका समस्या र आवश्यकतालाई नजिकबाट बुझेर सहकारीमार्फत सहयोग गर्दै आएको बताउनुहुन्छ । उहाँले कृषकको आवश्यकता पहिचान गरी समयमै आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सहकारीलाई किसानमैत्री संस्थाका रूपमा अघि बढाइरहेको बताउनुभयो ।

यसैबीच, बजारमा चिनीको अभाव भइरहेका बेला मध्यमार्ग कृषि सहकारीले वार्षिक साधारणसभाको अवसर पारेर आफ्ना सदस्यहरूलाई सहुलियतकाे चिनी उपलब्ध गराएको छ । बजारमा चिनीको अभाव भइरहेका बेला सहकारीले सदस्यलाई सहुलियतकाे चिनी उपलब्ध गराउनु महत्वपूर्ण सहयोग भएको सदस्यहरूले बताएका छन् । किसानको उत्पादनदेखि कृषि सामग्रीको उपलब्धतासम्म सहकार्य गर्दै आएको सहकारीले सदस्यको दैनिक आवश्यकतालाई समेत ध्यानमा राखेर सेवा विस्तार गर्न थालेको छ । कृषि क्षेत्रलाई केन्द्रमा राखेर किसानको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सहकारीले आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *