काभ्रे । चाडपर्व नजिकिँदै गर्दा नमोबुद्ध नगरपालिकाले भकुण्डेबेँसी बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका सामान बिक्रीका लागि राखिएको, इजाजतबिना मदिरा बिक्री गरिएको तथा व्यवसाय नवीकरण नगरिएको पाइएको छ । बजारमा उपभोक्ता हित र खाद्य सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्नबहादुर लामाको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सुष्मा महता के.सी., भकुण्डे प्रहरी चौकीका प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारी र नगर प्रहरीसहितको टोलीले मंगलबार भकुण्डेबेँसी बजारको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा जम्मा २१ वटा पसल तथा होटल–रेस्टुरेन्टको निरीक्षण गरिएको थियो । त्यस क्रममा व्यवसाय समयमै नवीकरण नगरेको, आवश्यक इजाजत नलिई मदिरा बिक्री–वितरण गरेको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखेको र मूल्यसूची नराखेको लगायतका कमजोरी भेटिएका छन् । त्यसैगरी होटल तथा रेस्टुरेन्टमा सरसफाइको अवस्था पनि न्यून रहेको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामान जफत गरी उचित व्यवस्थापनका लागि डिस्पोज गरिएको छ । व्यवसाय नवीकरण नगरेका व्यवसायीलाई प्रक्रिया पूरा गर्न ताकेता गरिएको नगरपालिकाले जनाएको छ । चाडपर्वको समयमा बजारमा उपभोग्य वस्तुको कारोबार र उपभोक्ताको चाप बढ्ने भएकाले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने नगरपालिकाको तयारी छ ।
यसअघि काभ्रेका बनेपा, धुलिखेल, पाँचखाललगायतका बजारमा जिल्ला प्रशासन कार्यालय काभ्रे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायतका निकायको अगुवाइमा बजार अनुगमन गरिएको थियो । त्यसैको निरन्तरतास्वरूप नमोबुद्ध नगरपालिकाले भकुण्डेबेँसी बजारमा अनुगमन गरेको हो ।
नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गर्न, मूल्यसूची राख्न, म्याद गुज्रिएका सामग्री बिक्रीका लागि नराख्न तथा होटल–रेस्टुरेन्टमा सरसफाइ र स्वच्छता कायम गर्न आग्रह गरिएको छ ।
