बनेपा । लेखक कृष्ण गोपाल (के.जी.) वैदारद्वारा लिखित ‘प्राचीन भारतमा परिवार, वर्ण र राज्यको उत्पत्ति’ पुस्तक लोकार्पण गरिएको छ । पूर्वीय दर्शन, प्राचीन भारतीय समाजको संरचना, परिवार, वर्ण व्यवस्था तथा राज्यको उत्पत्तिलाई ऐतिहासिक र दार्शनिक दृष्टिकोणबाट अध्ययन गरिएको पुस्तक लोकार्पण कार्यक्रममा कृति माथि व्यापक चर्चा गरिएको थियो । पुस्तक लोकार्पण कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
काभ्रे क्याम्पसका उपप्राध्यापक हरिकृष्ण बखुन्छें कायस्थले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा वक्ताहरूले पुस्तकले प्राचीन भारतीय समाजको विकासक्रमसँगै परिवार, सामाजिक संरचना, वर्ण व्यवस्था र राज्य निर्माणको प्रक्रियालाई अध्ययनको विषय बनाएको बताएका थिए । प्राचीन भारतमा विकसित गणराज्यको अवधारणा र राजनीतिक संरचनाबारे समेत पुस्तकमा चर्चा गरिएको उनीहरूको भनाइ थियो । पुस्तकको समीक्षा गर्दै डा. माधवप्रसाद तिमल्सिनाले प्राचीन समाज र राज्य व्यवस्थाको विकास बुझ्न कृति उपयोगी रहेको बताउनुभयो । उहाँले पूर्वीय दर्शन र ज्ञान परम्परालाई आधार बनाएर पुस्तक तयार पारिएको उल्लेख गर्दै यसको अध्ययनले प्राचीन समाजको संरचना बुझ्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
त्यस्तै, पुस्तकमा गणराज्यको विषयलाई समेत अध्ययन र व्याख्या गरिएको बताउँदै उहाँले प्राचीन भारतका सामाजिक तथा राजनीतिक संरचनाको विकासमा गणराज्यको भूमिकालाई पुस्तकले प्रस्तुत गरेको उल्लेख गर्नुभयो । पुस्तकमा प्राचीन भारतसँगै पश्चिमी, उत्तरी तथा पूर्वीय सभ्यताको विकासक्रमका विभिन्न पक्षलाई समेत समेटिएको छ । सभ्यताको विकाससँग जोडिएका सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनलाई तुलनात्मक रूपमा बुझ्ने प्रयास पुस्तकमा गरिएको बताइएको छ । कार्यक्रममा रामराजा धौबडेलले लेखक वैदारलाई आगामी दिनमा पनि अध्ययन, अनुसन्धान र लेखनलाई निरन्तरता दिन सुझाव दिनुभयो । उहाँले आगामी २० वर्षमा २० वटा पुस्तक लेख्ने लक्ष्यसहित अघि बढ्न लेखकलाई शुभकामना दिनुभयो ।
बनेपा नगरका मेयर शान्तिरत्न शाक्यले पुस्तक लेखनका लागि लामो समय, अध्ययन र मेहनत आवश्यक पर्ने बताउँदै लेखकले आफ्नो पुस्ताप्रतिको दायित्व पूरा गर्ने क्रममा गहन अध्ययनमा आधारित कृति तयार पारेको बताउनुभयो । वरिष्ठ साहित्यकार एवं जनमत मासिकका सम्पादक मोहन दुवालले वैदारले प्राचीन भारतको सामाजिक, सांस्कृतिक तथा राजनीतिक अवस्थालाई अध्ययन र विश्लेषणसहित पुस्तकमा प्रस्तुत गर्न सफल भएको बताउनुभयो । उहाँले पुस्तकमा समेटिएका विषय इतिहास र पूर्वीय दर्शनका अध्येताका लागि उपयोगी हुने धारणा राख्नुभयो ।
लेखक कृष्ण गोपाल वैदारले प्राचीन भारतीय समाज, परिवार, वर्ण व्यवस्था, राज्यको उत्पत्ति तथा पूर्वीय दर्शनसँग सम्बन्धित विभिन्न ऐतिहासिक सामग्रीको अध्ययनपछि पुस्तक तयार पारिएको बताउनुभयो । प्राचीन समाजको विकासक्रमलाई समग्र रूपमा बुझ्न पुस्तकले सहयोग गर्ने उहाँको विश्वास थियो । कार्यक्रममा वक्ताहरूले लेखक वैदारको लामो समयदेखिको पत्रकारिता, अध्यापन, लेखन, समीक्षा–समालोचना तथा सामाजिक–राजनीतिक अध्ययनसँग जोडिएको सक्रियताको समेत चर्चा गरेका थिए । उहाँको अध्ययनशील र बहुआयामिक व्यक्तित्वले पुस्तक लेखनमा समेत प्रभाव पारेको वक्ताहरूको भनाइ थियो ।
कार्यक्रममा लेखकको जीवनसँग जोडिएको कठिन राजनीतिक कालखण्डको समेत स्मरण गरिएको थियो । राजनीतिक कारणले उहाँले २० महिना जेल जीवन बिताएको तथा आस्थाका आधारमा बन्दी बनाइएका व्यक्तिहरूको रिहाइका लागि पैरवी गरेको प्रसंगसमेत वक्ताहरूले उल्लेख गरेका थिए । ‘प्राचीन भारतमा परिवार, वर्ण र राज्यको उत्पत्ति’ पुस्तकमा १२ वटा लेख समावेश छन्, जसमध्ये अधिकांश पूर्वीय दर्शन तथा प्राचीन समाजसँग सम्बन्धित विषयमा आधारित रहेको बताइएको छ । पुस्तकले इतिहास, दर्शन, समाजशास्त्र, अर्थशास्त्र र राजनीतिशास्त्रका अध्येता तथा अनुसन्धानकर्तालाई प्राचीन भारतीय समाज र राज्य व्यवस्थाको विकासबारे थप अध्ययनका लागि आधार प्रदान गर्ने विश्वास गरिएको छ ।
बरिष्ठ मुटुरोग विषेशज्ञ डा. ओममूर्ती अनिलले पुस्तक लेख्न गाह्राे हुने र जाँगर एवं समय पनि अधिक लाग्ने उल्लेख गर्दै लेखकले आफ्नो पुस्ताको दायित्व र कर्तव्य पूरा गर्नुभएको उल्लेख गर्नुभयो । कार्यक्रमको सभापतित्व काभ्रे क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन काभ्रे क्याम्पसका प्राध्यापक कृष्णप्यारी नकर्मीले गर्नुभएको थियो ।
