नेपालको पर्यटन क्षेत्रका लागि सन् २०२६ को सेप्टेम्बरले उत्साहजनक संकेत दिएको छ । वर्षायामको प्रतिकूल मौसम र प्राकृतिक विपद्को जोखिमका बीच एकै महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिनु सामान्य उपलब्धि होइन । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महिनामा ७८ हजार ७११ पर्यटक आएकोमा यस वर्षको सेप्टेम्बरमा झण्डै १० हजार बढी पर्यटक आएका छन् ।
पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । त्यसैले पर्यटक आगमनमा देखिएको यो वृद्धिलाई केवल तथ्याङ्कका रूपमा हेरेर पुग्दैन । यसले नेपालप्रति अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण अझै बलियो रहेको सन्देश पनि दिएको छ ।
सेप्टेम्बरमा दक्षिण एसियाबाट मात्रै ३० हजार ८५ पर्यटक नेपाल आएका छन् । त्यसमध्ये भारतबाट १७ हजार ४२५ पर्यटक आउनु नेपालको पर्यटनका लागि विशेष महत्वको विषय हो । चीन, जापान, दक्षिण कोरिया, युरोप, अमेरिका, ओसियाना तथा अन्य क्षेत्रबाट समेत उल्लेख्य पर्यटक नेपाल आउनुले नेपालको पर्यटन बजार विविध बन्दै गएको देखाउँछ ।
तर पर्यटक बढ्नु मात्रै पर्याप्त हुँदैन । उनीहरूलाई नेपालमा सहज, सुरक्षित र गुणस्तरीय यात्रा अनुभव दिन सक्नु अझ महत्वपूर्ण हुन्छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पर्यटक आगमन प्रभावित भएको तथ्यले पनि हाम्रो पर्यटन पूर्वाधार र विपद् व्यवस्थापनको कमजोर पक्ष उजागर गर्छ ।
नेपालमा वर्षायामलाई पर्यटनको ‘अफ सिजन’ मान्ने प्रवृत्ति अझै छ । तर पछिल्लो तथ्याङ्कले मौसम प्रतिकूल हुँदा पनि पर्यटक नेपाल आउन इच्छुक रहेको देखाएको छ । यसलाई अवसरमा बदल्न अब पर्यटनलाई केवल काठमाडौं, पोखरा वा केही हिमाली गन्तव्यमा सीमित राख्ने होइन, देशका नयाँ तथा वैकल्पिक गन्तव्यसम्म विस्तार गर्नुपर्छ ।

त्यसका लागि गुणस्तरीय सडक, विमानस्थल, पदमार्ग, सञ्चार, स्वास्थ्य, सरसफाइ, पर्यटक सूचना केन्द्र, उद्धार तथा विपद् व्यवस्थापनजस्ता आधारभूत पूर्वाधारमा लगानी बढाउन आवश्यक छ । सडक निर्माण मात्र होइन, निर्माण भएका सडकको नियमित मर्मत र जोखिमयुक्त क्षेत्रमा सुरक्षित यातायात व्यवस्था पनि उत्तिकै आवश्यक छ ।
पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक तथा सांस्कृतिक सम्पदा नेपालसँग प्रशस्त छन् । समस्या आकर्षणको कमी होइन, त्यसलाई व्यवस्थित पर्यटन उत्पादनमा बदल्ने क्षमता र पूर्वाधारको हो ।
अहिलेको बढ्दो पर्यटक आगमनलाई सरकारले पर्यटन क्षेत्र सुधारको अवसरका रूपमा लिनुपर्छ। निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्दै स्थानीय समुदायलाई पर्यटनको लाभसँग जोड्न सके पर्यटन रोजगारी र स्थानीय अर्थतन्त्रको बलियो आधार बन्न सक्छ ।
वर्षायाममै ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आउनु सम्भावनाको संकेत हो । अब प्रश्न पर्यटक आउँछन् कि आउँदैनन् भन्ने होइन, आउने पर्यटकलाई कसरी स्वागत गर्ने, सुरक्षित राख्ने र उनीहरूलाई फेरि नेपाल आउन प्रेरित गर्ने भन्ने हो । त्यसका लागि पूर्वाधार, सेवा र व्यवस्थापनमा सुधार गर्न अब ढिला गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *