पनौती। एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौतीको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाको आर्थिक अवस्था, वित्तीय कारोबार, प्रगति प्रतिवेदन तथा सहकारीका गतिविधिबारे जानकारी प्रस्तुत गरिएको थियो । संस्थाकी अध्यक्ष चण्डेश्वरी मुनामर्मिको अध्यक्षतामा सम्पन्न सभामा ज्येष्ठ सदस्य कान्छा खत्री प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा संस्थापक अध्यक्ष लक्ष्मीनारायण ताम्राकारको पनि उपस्थिति रहेको थियो ।
सभामा संस्थाको आर्थिक प्रगति प्रतिवेदन उपाध्यक्ष रविनभक्त स्याउलाले प्रस्तुत गरेका थिए भने सचिव सविना सापकोटाले संस्थागत गतिविधिबारे जानकारी गराएकी थिइन् । लेखा समितिका संयोजक बसन्तराज नेपालले लेखा समितिसम्बन्धी जिम्मेवारी निर्वाह गरेका थिए ।
३ हजार ८३४ शेयर सदस्य, शेयर पुँजी २ करोड ४३ लाखभन्दा बढी
सहकारीले प्रस्तुत गरेको विवरणअनुसार संस्थामा कुल ३ हजार ८ सय ३४ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी २ करोड ४३ लाख ९५ हजार रुपैयाँ पुगेको छ। संस्थाको आर्थिक तथा वित्तीय विवरणअनुसार बचत रकम २२ करोड ६१ लाख ३६ हजार ५ सय रुपैयाँ रहेको छ भने ऋण लगानी २४ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, संस्थाको स्थिर सम्पत्ति ४७ लाख ४९ हजार ३ सय रुपैयाँ र गैरबैंकिङ सम्पत्ति ६५ लाख ११ हजार ६ सय रुपैयाँ रहेको विवरण प्रस्तुत गरिएको छ। सहकारी संस्थाले आफ्ना सदस्यको बचत परिचालन गर्दै आवश्यकता अनुसार ऋण लगानी गर्ने तथा सदस्यहरूको आर्थिक गतिविधिलाई सहयोग पुर्याउने उद्देश्यले वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।
वार्षिक साधारणसभा सहकारीको आर्थिक अवस्था, संस्थागत प्रगति तथा आगामी कार्यदिशाबारे समीक्षा गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको छ।
