बनेपा । काभ्रेको बनेपामा रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २२, २३ र २४ गते विभिन्न चरणमा सञ्चालन गरिएको साधारण सभाको समापन कार्यक्रम शनिबार बनेपास्थित पञ्चकन्या ब्याङ्क्वेटमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थापना, विकास र वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले संस्थालाई ३१ वर्षसम्मको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो ।

अध्यक्ष घिमिरेले कालाेटाेपी डटकमलाई दिनुभएकाे जानकारी अनुसार संस्था २०५२ साल मंसिर १८ गते तत्कालीन सहकारी ऐन, २०४८ अनुसार दर्ता भई २६ जना सदस्यबाट सुरु भएको थियो । संस्थाले आफ्नो सेवा विस्तार गर्दै हाल १० हजार ५४४ जना शेयर सदस्य आबद्ध गराउन सफल भएको छ । आर्थिक वर्ष २०८२/०८३ सम्मको विवरणअनुसार संस्थाको कुल वासलात दुई अर्ब ३० करोड ५२ लाख ९८ हजार ६४३ रुपैयाँ पुगेको छ । संस्थामा एक अर्ब ९२ करोड ९६ लाख आठ हजार २२६ रुपैयाँ बचत रहेको छ भने एक अर्ब ६९ करोड ९८ लाख ६५ हजार ७१९ रुपैयाँ ऋण लगानी गरिएको छ ।

त्यसैगरी, संस्थाको शेयर पुँजी १६ करोड २४ लाख १४ हजार ७०० रुपैयाँ र संस्थागत पुँजी १७ करोड रुपैयाँ रहेको छ । संस्थाले तीन दशकभन्दा लामो यात्रामा सदस्य विस्तारसँगै आर्थिक कारोबारको दायरा पनि बढाउँदै लगेको छ । साधारण सभामा सचिव नवराज आचार्यले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष विकास शर्मा तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिलाई पनि निरन्तरता दिँदै आएको छ ।

शनिबार सम्पन्न समापन कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण दाहाल प्रमुख अतिथि तथा अध्यक्ष गोपालप्रसाद घिमिरे सभापति रहनुभएको थियो । कार्यक्रममा संस्थाले विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने सदस्य तथा कर्मचारीलाई सम्मान गरेको थियो। संस्थाका सबै शाखाका उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो भने बाल बचतकर्तालाई पनि प्रोत्साहनस्वरूप सम्मान गरिएको थियो । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने शेयर सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *