धुलिखेल । नेपालमा बीउको आयात हरेक वर्ष बढ्दो क्रममा रहेको तथ्यांक सार्वजनिक भएको छ ।
मंगलबार कृषि विकास कार्यालय काभ्रेले आफ्नो कार्यक्षेत्र काभ्रे र सिन्धुपाल्चोकका बीउ उत्पादक, बीउ व्यवसायी तथा सरोकारवालाहरुबीच गरेको अन्तक्र्रिया कार्यक्रममा यसको जानकारी दिएको हो । कार्यक्रममा कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले कार्यपत्र प्रस्तुत गर्दै बीउको आयात बिकरालरुपमा बढीरहेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा तरकारीको बीउ १६०.६२ मेट्रिक टन आयात भएको थियो । त्यस्तै मकैको बीउ १ हजार १७८.०३ मेट्रिक टन आयात भएकोमा धानको बीउ आयात १ हजार ८५८.६८ मेट्रिक टन आयात भएको थियो ।
हरेक वर्ष बढ्दै यो संख्या आर्थिक वर्ष ०७९÷०८० मा आइपुग्दा तरकारीको बीउ, २१८.४ मेट्रिक टन, मकैको बीउ २ हजार ५४५. ५६ मेट्रिक टन र धानको बीउ २ हजार २७३.४१ मेट्रिक टन आयात भएको छ । यसरी हेर्दा हरेक वर्ष बीउ आयातमै नेपालले अर्बौं रुपैयाँ बाहिरी मुलुक पठाइरहेको छ । यसलाई रोक्न अब गाह्रो भए पनि न्यूनिकरणका लागि स्वदेशमै बीउ उत्पादनमा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
बीउ बिजन ऐन २०४५ का अनुसार यौनिक वा वानस्पतिक तरिकाले पुनरोत्पादन गरी बाली उत्पादन गर्नका लागि छर्ने वा रोप्ने काममा प्रयोग गर्न सकिने बीउ विजन वा बीज नै सामान्य बुझाइको भाषामा बीउ हो । यस्ता बीउहरु नेपालमा कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले उत्पादन तथा बिक्री वितरण गर्छ । नेपालमा हाल १ हजार ५७ प्रकारका बीउहरु सिफारिस गरिएका छन् । यस अन्तर्गत, तरकारी, धान, गहुँ, मकै, फलफूललगायत सबै बाली र बोटबिरुवाहरु पर्दछन् । यस्ता बीउहरु स्वदेशमा उत्पादन भए पनि नपुगेपछि बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको प्रमुख दवाडीले बताउनुभयो ।
प्रस्तुत कार्यपत्र अनुसार काभ्रे जिल्लामा ११ हजार ५८ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ । जसमा ४३ हजार ३६९ मेट्रिक टन उत्पादन हुने गरेको छ । यस्तै मकै खेती २४ हजार ८७५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । जसमा ८२ हजार ७१७ मेट्रिक टन उत्पादन हुन्छ भने गहुँको खेती ८ हजार ८६० हेक्टर क्षेत्रफलमा हुँदा उत्पादन भने २६ हजार ४८३ मेट्रिक टन हुने गरेको छ । यी बाली उत्पादनका लागि जिल्लामा ५५३ मेट्रिक टन धानको बीउ, ७४६ मेट्रिक टन मकैको बीउ, १ हजार ६३ मेट्रिक टन गहुँको बीउ, ५२ मेट्रिक टन कोदो, ४३ मेट्रिक टन जौ को बीउ, फापर र तोरीको बीउ क्रमशः ३८ र २८ मेट्रिक टन आवश्यक पर्छ । यस्तै १८ हजार ३१८ मेट्रिक टन आलुको बीउ, ७३ मेट्रिक टन भटमास, एक मेट्रिक टन मास, २ मेट्रिक टन चनाको बीउ र ६ मेट्रिक टन गहतको बीउ आवश्यक पर्ने तथ्यांक छ । जसमध्ये अधिकांश बीउ बाहिरी देशबाट आयात गर्नु पर्ने अवस्था छ ।
जिल्लमा कृषि विकास कार्यालयसँगको समन्वयमा १३ वटा बीउ बिजन सहकारी, र २ वटा तरकारीका बीउ उत्पादक तथा सहकारीहरु संचालनमा रहेका छन् । कार्यक्रममा किसानले बीउ चक्रको बारेमा ध्यान दिन नसक्नु र त्यसको ज्ञानको कमीले गर्दा बीउको प्रयोगमा आयातकै भर पर्नु पर्ने समस्या बढिरहेको दवाडीले बताउनुभयो ।
यस्तै बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहरभवनका प्रमुख वेनीप्रसाद प्रसार्इंले नेपालमा बीउको अवस्थाका बारेमा सहभागीहरुलाई जानकारी गराउँदै नेपालमा बीउको प्रयोग र संरक्षण तथा बीउ उत्पादन र संरक्षणमा भएका कार्यक्रमका बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार संसारभर सबै खाद्यान्नको बीउको माग बढीरहेको छ । कृषिमा संलग्न जनशक्तीको अभावलगायत विविध कारणले नेपालमा भारत र चीनबाट ठूलो परिमाणमा बीउहरु आयात गर्नुपरेको उहाँले जानकारी दिनुभयो । प्रसाईंले बीउ उत्पादनको अनुगमन फितलो हुँदा किसानहरु समस्यामा रहेको र ऐन कानुनको पालनामा पनि समस्या रहेको बताउँदै यसमा सरकारले ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुका जिज्ञासाको सम्बोधन गर्दै बागमती प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाका प्रमुख राजन ढकालले बागमती प्रदेशमा बीउको अवस्थाका बारेमा जानकारी गराउनुभयो । सहभागी बीउ उत्पादक तथा बिक्रेताहरुले आफूहरुले भोगिरहेका समस्याहरुका बारेमा जानकारी गराएका थिए । चोर बाटोबाट आउने बीउको समस्या, हरेक बर्ष नयाँ बीउको प्रयोग गर्ने, आईपिएम खेती प्रणाली अनुसार खेती नगर्ने जस्ता समस्याले बीउ आयात बढेको उनीहरुको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालयका प्रमुख दवाडीले स्थानीय जातका बीउहरुलाई संरक्षण गर्न र रैथाने बीउहरुको जगेर्नामा कार्यालयले नयाँ कार्यक्रमहरु अघि सारेको जानकारी गराउनुभयो । यसले बीउ आयात रोक्न सहयोग पुग्ने उहाँको अपेक्षा थियो । कार्यक्रममा बीउ उत्पादक, व्यवसायी, पत्रकारलगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रमुख दवाडीकै अध्यक्षतामा सम्पन्न भएको थियो ।
