बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको ४८ औं जिल्ला सभा शनिबार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । बनेपा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लामाले रेडक्रस आफैंमा पवित्र संस्था भएको र यसले गर्ने कामहरुलाई सबैले विशेष चासोका साथ हेर्ने भएकाले पवित्र मन लिएर काम गर्न रेडक्रसकर्मीहरुलाई आग्रह गर्नुभयो ।
रेडक्रसले भूकम्प, बाढीपहिरो, आगलागी जस्ता विपदमा सधैं अग्रपंक्तिमा रहेर काम गरिरहेको पृष्ठभूमीमा काभ्रे रेडक्रस पनि यसमा सधैं अब्बल रहेको चर्चा गर्दै उहाँले आफूले सधैं रेडक्रसलाई सहयोग गरिरहने बताउनुभयो । विशेष अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले रेडक्रससँग समन्वय गरेर नगरपालिकाले समाजसेवाका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बागमति प्रदेशका नीति तथा योजना आयोगका सदस्य गुणराज मोक्तानले रेडक्रसले काभ्रेमा मात्र नभएर देशमै उत्कृष्ट कार्य गरिरहेको चर्चा गर्नुभयो ।
रेडक्रस काभ्रेका उपसभापति ज्ञानबहादुर लामाले उपस्थित सबैलाई स्वागत गर्दै रेडक्रसलाई सबैले माया गर्नुपर्ने बताउनुभयो । जिल्ला सभापति देवेन्द्र भैलले कार्यक्रमको उद्देश्यमाथि चर्चा गर्दै गत असोजको बाढीपहिरोले पीडित जिल्लाका नागरिकलाई रेडक्रसले सहयोग गरिरहेको र अझै पनि निरन्तर सक्रियताका साथ सहयोग गरिरहने बताउनुभयो । कार्यक्रममा रेडक्रसको वार्षिक प्रगति विवरण जिल्ला मन्त्री राजु सिग्देलले प्रस्तुत गर्दै आगामी कार्ययोजनाका बारेमा पनि जानकारी दिनुभयो । यस्तै कोषाध्यक्ष प्रेमकुमार तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव माधव ढकाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपाने, रेडक्रस काठमाडौंका सभापति श्याम डोटेल, भक्तपुरका सभापति परशुराम पाण्डे, सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभँडेल, रेडक्रस काभ्रेका पूर्वअध्यक्ष सोमप्रसाद हुमागाईंलगायतले रेडक्रसमा राजनीतिक गन्ध हुन नहुने भन्दै निष्पक्ष भएर काम गर्न सबै रेडक्रसकर्मीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा काभ्रे जिल्लाका ३२ वटै उपशाखाका सभापति तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पनौती उपशाखा पहिलो, खोसापी उपशाखा दोस्रो र काभ्रे उपशाखा तेस्रो भएकोले नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । जिल्लामा हाल करिब आठ हजार जना रेडक्रसमा आबद्ध रहेको कार्यक्रममा जानकारी दिइयो । जिल्ला सभापति देवेन्द्र भैलको सभापतित्वमा सम्पन्न जिल्ला सभा उपमन्त्री प्रदीप केसी बन्जाराले संचालन गर्नुभएको थियो ।
