काभ्रे । हिन्दूहरुका ठूला पर्वहरु दशैं र तिहार सकिए । तर काभ्रेका बाढीपहिरो पीडितलाई यस वर्ष पर्वहरुको रौनकले खासै छोएन । पुरिएका घर र खेतबारीको निशाना हेर्दैमा उनीहरु पीडामा रहे । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रुपमा लिइने दशैं र तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रुपमा मनाइरहँदा पीडितहरुलाई भने पर्वको उल्लास नै आएन ।
काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने यस वर्षका पर्वलाई हर्षका रुपमा मनाउन पाएनन् । गत असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबार सबै बगाएपछि यहाँका अधिकांशको घरआँगनमा फूल र बत्तीको झिलिमिली नभई मनभरि पीडा मात्र छायो ।
‘मनभरि पीडा बोकेर के पर्व मनाउनु र ?’ पनौती नगरपालिका–१२ माथिल्लो रोशी बजारका भवानी केसीले भन्नुभयो । यसअघि घर नजिकै रहेको खोल्सामा कलकल बगिरहेको पानी अनि वरिपरि हरियाली वातावरणमा सुन्दर रहेको बस्तीमा एक्कासी गएको बाढीपहिरोले घरखेत सबै बगाएपछि बगरबीचमा ढलिरहेको घर देख्दा पीडाले मनमा सताइरहने उहाँले बताउनुभयो । घरआँगनमा तिहारको लागि रोपेको सयपत्री फूलको बगैँचासहित घर अहिले बाढीले खण्डहर बनाएको बगरमा परिणत भएको छ । “यहाँ बस्ने ठाउँ छैन, खेती गरेको धान बगाएर थोरै बाँकी थियो, त्यही जोगाउन भनेर आएकी हुँ”, भवानीले भन्नुभयो, “अहिले बनेपामा कोठा लिएर बस्दै आएका छौँ ।”
यस्तै सोही ठाउँका राजेन्द्र श्रेष्ठले भित्र्याइसकेको धान र मकै सबै बगाएपछि कोठा लिएर बस्नुपरेको बताउनुभयो । “बस्ने बाँस, खाने गाँस र पिउने पानी छैन”, उहाँले भन्नुभयो, “दसैँ पनि अर्काको घरमा बितायौँ, तिहार पनि त्यसै भयो ।” वडा कार्यालयले पीडितको विवरण सङ्कलन गरेर लगेको भन्दै उहाँले यथाशीघ्र बासस्थानको व्यवस्थापन हुने विश्वास व्यक्त गर्नुभयो ।


घरगोठ दुवै बगाएपछि पनौतीमा डेरा गरी बस्दै आउनुभएकी पनौती–१२ पचारेका सुमिना श्रेष्ठले वडा र नगरबाट केही राहत पाइएको बताउँदै उक्त राहत चाडपर्व मनाउन पर्याप्त नभएको बताउनुभयो । बाढीले भएको जग्गाजमिन सबै बगाएको भन्दै राज्यले जग्गाको नाप, नक्सा छुट्याएर दिएमा आफ्नै टहरा बनाएर बस्ने उहाँको आशा छ । अर्का पीडित अमरबहादुर केसीले बाढीले बगाएर घर र शौचालयको भाग थोरै मात्रै बाँकी रहेको देखाउँदै पाक्दै गरेको धान भित्र्याउन नपाउँदै करिब नौ मुरी धान फल्ने खेतसहित बगाएको बताउनुभयो ।
रोशी बजारका शङ्कर तामाङ भने खर्च जुटाएर बाढीले बगाएको घर निर्माण गर्न खोलाबाट ढुङ्गा ओसार्ने काममा व्यस्त छन् । ढुङ्गा माटोले बनेको आफ्नो दुई तले घर खोलाले बगाएर बगर बनाएपछि अहिले उहाँ घर निर्माणमा व्यस्त हुनुभएको हो । घर नै नभएपछि चाडपर्व खुसीले मनाउने अवस्था नरहेको उहाँले बताउनुभयो । “घर बनाउन पैसा छैन, छ जनाको परिवारको जीविकोपार्जन गर्नु छ । दूध बेचेर आम्दानी गर्ने भैँसी बाढीले बगायो । अहिले ज्यालामजदूरी गरी अरुको घरमा बस्न बाध्य छौँ”, उहाँले भन्नुभयो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सुरक्षितरुपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसका लागि सङ्घीय सरकारले सहयोग नगरी सम्भव नभएकाले आवश्यक सहयोगका लागि पहल गरिरहेको बताउनुभयो । जिल्लाको विकट डाँडापारिस्थित बागमती खोलाको बाढीले सबै बगाएपछि खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्तीका बासिन्दा बगाएको बस्तीमाथि त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।


अस्थायी बासस्थान निर्माणका लागि क्षतिको विवरण आवश्यक पर्ने भएकाले प्रहरी विवरण सङ्कलन गरिरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । क्षतिको सम्पूर्ण विवरण सङ्कलन भएपछि राहत र पुनःस्थापना प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । रोशी गाउँपालिकाको नार्के र कालढुङ्गामा पनि रोशी खोलामा गएको बाढीले बस्ती बगाएपछि यहाँका नागरिकलाई पनि चाडपर्वको रौनकले छोएन, कसैलाई पनि ‘फूल र बत्तिको झिलिमिली’ लागेन । जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोले घर बगाएर विचल्लीमा परेका परिवारले सुरक्षित बासस्थानको अभावमा खुसीले चाडपर्व मनाउन पाएनन् ।
बाढीपहिरोले प्रभावित यहाँका पालिकाहरुमा कुनै पनि क्षेत्र सुरक्षित रहेन । सडक, विजुली, खानेपानी, संचार, कृषि, पशुपालन, निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्यचौकी सबैजसो क्षेत्रमा असर परेको छ ।
स्थानीयका गाँस–बास–कपाससँगै भौतिक संरचना पूर्णरुपमा क्षति भयो । जिल्लाका १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७८ जनाले ज्यान गुमाए । यसपटकको बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन् । बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । घटनामा हालसम्म ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।
जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ । बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्याङ्क सार्वजनिक हुन अझै सकेको छैन । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहले समेत राहत रकम घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *