ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं । फूल अर्थात् पुष्प । बास्ना र सौंन्दर्यको अर्को नाम । शायदै कम होलान् फूल मन नपराउनेहरु । अनि थोरै होलान्, यसको महत्व नबुझ्नेहरु । फूललाई नै केन्द्रित गरेर थुप्रै गीतकार र साहित्यकारहरुले आफ्ना श्रृजनाहरु पस्किएका विगतहरु छन्, हामीसँग । अनि यसको वर्तमान पक्ष पनि कम सशक्त छैन । हिन्दु धर्ममा कुनै चार्डपर्व होस् वा धार्मिक उत्सव पहिले फूलकै खोजी हुन्छ । पौराणिक पक्ष केलाउने हो भने पनि त्रेतायुगमा लंकाका राजा रावणसँग पुष्पक विमान (फूलबाट बनाइएको विमान) थियो भन्ने कुरा रामायणमा वर्णन गरिएको छ । पौराणिक विषयहरुमा विश्वास होला नहोला यसै भन्न सकिन्न । तर आधुनिक युगमा फूलप्रति झुकाव राखेर यसलाई व्यवसायिकता दिनेहरुप्रति भने हामीले विश्वास गर्नै पर्छ । पुष्प व्यवसायको भविष्य के छ त, नेपालमा ? विज्ञहरु भन्छन्–‘यो व्यवसाय अहिले फूलको कोपिला जस्तै छ । फूल फक्रिएर सबैलाई आनन्दित बनाएझैं यसले एकदिन व्यवसायीहरुलाई पनि सफलताको शिखरमा पु¥याएरै छोड्छ ।’
नेपालमा विगत ५० वर्षदेखि व्यवसायीकरुपमा फूलखेतीको शुरुवात भएको हो । व्यवसायीकरुपमा शुरु हुनुभन्दा अगाडि आफ्नो व्यक्तिगत प्रयोजनका लागि घर छेउछाउ आँगनका डिलहरुमा फूल रोपिने गरिन्थ्यो । यसको महत्वलाई बुझेर अहिले नेपालका करिव ६ सय ५० व्यवसायीहरु नर्सरी उत्पादन र सयौं कृषकहरु फूलखेती तथा व्यापारतर्फ लागेका छन् । तैपनि वार्षिक करोडौंको व्यापार हुने यसको मागलाई धान्न नसकेर दशैं, तिहार जस्ता चार्डपर्वहरुमा भारतबाट पनि आयात गरिने गरिएको छ ।
नेपालका प्रायः सबै ठाउँमा फूल खेती गर्न सकिन्छ । अहिले यति नै प्रजातीका फूलहरु पाइन्छन् भन्न नसकिए पनि विश्वमा पाइने अधिकांश फूलहरु यहाँ पाइन्छ । फ्लोरी कल्चर्स एसोसिएसन नेपालका अनुसार धेरैजसो फूल उत्पादन हुने भएका कारण नेपालमा उत्पादित कतिपय प्रजातीका फूलहरु भारत, जापान तथा स्पेनसम्म निर्यात हुने गरेको छ । तर विविध कारणले व्यवसायलाई निरन्तरता दिन नसकिएकाले अहिले केही समयदेखि नेपालको फूल विदेश निर्यात रोकिएको छ । जापानसम्म फूल निर्यात गर्ने सबैभन्दा ठूलो एभरेष्ट फ्लोरी कल्चर्स, सुन्दरीजल अहिले आन्तरिक कारणले बन्द छ । पछिल्ला दिनहरुमा आफैंलाई पुग्ने उत्पादन नभएका कारण पनि फूल विदेश निर्यात गर्न नसकिएको हो ।
हाम्रो संस्कृति र चार्डपर्व अनुशार दशैं–तिहारमा फूलको माग धेरै हुने गर्छ । यो समयमा गोदावरी, मखमली तथा सयपत्रीको अत्याधिक खपत हुने कारणले गर्दा नेपालको उत्पादनले नपुगेपछि भारतबाट पनि ल्याइन्छ । त्यस्तै भ्यालेन्टाइन डे मा गुलाबको खपत धेरै हुन्छ । अरु समयमा पनि फूलको माग नहुने होइन । पछिल्ला समय स्थानीय जातका अतिरिक्त भारत र हल्याण्डबाट हाईब्रिड जातका फूलहरु ल्याएर खेती गर्ने गरिएको छ ।
देशका विभिन्न भागहरुमा प्रायः वर्षायाममा नै फूलखेती गरिन्छ । विगत केही वर्षदेखि अन्य खेती जस्तै फूल खेती पनि कृषकहरुको मुख्य पेशा नै भइसकेको छ । राजधानीको बजारमा आसपासका गाउँहरु रामकोट, फर्पिङ, इचंकुनारायण लगायतबाट फूलहरु ल्याइने गरिएको छ । बहुसंख्यक जनसंख्या कृषिमा संलग्न भएपनि सरकारले यसतर्फ गर्नुपर्ने जति सहयोग नगरेका कारण नेपालको फूल व्यवसाय प्रभावित भएको छ । यसतर्फ बैंक तथा अन्य वित्तीय संस्थाहरुले सहयोग गर्ने हो भने कृषकहरुलाई सजिलो हुने फ्लोरी कल्चर्स एसोसिएसनले जनाएको छ ।
नेपालमा फूलखेतीलाई फस्टाउने वातावरण मिलोस् भनेर प्रत्येक वर्ष फ्लोरी कल्चर्स एसोसिएसनले पुष्पमेला प्रदर्शनीको आयोजना गर्दै आएको छ । यस अन्र्तगत गत चैत १७ गतेदेखि २० गतेसम्म राजधानीको भृकुटीमण्डपमा २६औं पुष्पमेला प्रदर्शनी भएको थियो । प्रदर्शनीमा देशका थुपै्र नर्सरीहरुको सहभागिता रहेको थियो । पुष्पमेला प्रदर्शनीमा देशका विभिन्न भेगका नर्सरीहरुको ७० वटा स्टलहरु रहेका थिए । प्रदर्शनी अवधीभर ४० हजार वढी दर्शकले अवलोकन गरेको र करिव १ करोड रुपैंयाँ बराबरको कारोवार भएको एसोसिएसनले जानकारी गराएको छ । यहाँ मौसम अनुशार र सदावहार गरि सयौं प्रजातीका फूलहरुको प्रदर्शनी गरिएको थियो ।
समग्रमा हेर्दा नेपालमा पुष्प व्यवसायको भविष्य राम्रो छ । तर धेरै कारणहरु छन् , जसले चाहेर पनि यहाँको व्यवसायलाई फस्टाउन दिएको छैन । यसमा भएका अप्ठ्याराहरुलाई पन्छाएर खेती गर्ने हो भने पक्कै पनि यसबाट कृषकहरुले नसोचेको फाइदा लिन सक्नेछन् । सम्बद्ध व्यवसायीहरु भन्छन्–“नेपालको फूल व्यवसायलाई फूल जस्तै फक्रिन सक्ने बनाउने हो भने सयौं युवाहरुले रोजगारीका लागि विदेश जानु पर्दैन ।”
