बनेपा । स्तरोन्नति भइरहेको अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प छ ।
डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल– सिन्धुली– बर्दिबास सडक आयोजनाले जनाएको छ ।
पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि डेढ महिनादेखि विस्तार रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५÷७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनु पर्ने माग गर्दै निर्माण अवरुद्ध पारेको जनाइएको छ । यसअघि विभिन्न निकायको समन्वयमा अवरोध हटाउन प्रयास गरिए पनि मङ्गलबार बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफल पनि बिनानिष्कर्ष टुङ्गिएको छ ।
पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमा समेत निर्माण रोकिएको हो । पुलबजार क्षेत्रको अवरोध तत्काल हटाएर विस्तार कार्यलाई अघि नबढाइए वर्षाअघि कामले निरन्तरता नपाउने आयोजनाको भनाइ छ । अन्य स्थानमा भने काम तीव्ररुपमा नै भइरहेको बताइएको छ ।
