काठमाडौँ । यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम प्रतिकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्न सक्ने जानकारी दिनुभयो । मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ, वास्तविक क्षतिको विवरण आउन अझै बाँकी छ । सिरहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भएको छ जसले गर्दा दुई प्रतिशतसम्म धान उत्पादनमा ह्रास आउँछ कि भन्ने हाम्रो अनुमान छ ।
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेस र बागमती प्रदेशमा धान उत्पादनमा असर परेको बताउनुभयो ।
क्षतिको आँकलन गरिँदै
मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतमा भएको क्षतिसम्बन्धी विस्तृत आँकलन निकाल्न आगामी मङ्सिर अन्तिम साता प्रदेशिक गोष्ठी गर्ने भएको छ । मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार सबै प्रदेशबाट सङ्कलित डाटालाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न गोष्ठी आयोजना गर्न लागिएको छ । गोष्ठीमा सबै प्रदेशकासम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहने छ ।
रोपाइँमा मात्रै अनुकूल रह्यो मनसुन
यस वर्ष धान रोपाइँका लागि मात्रै मनसुन अनुकूल रहेको थियो । अधिकांश रोपाइँ आकाशे पानीकै भरमा सम्पन्न हुने गरेकोमा यस वर्ष धेरै पानी पर्दा रोपाइँका लागि मनसुन सुखद् रहेको मन्त्रालयले विश्लेषण गरेको थियो । मन्त्रालयका अनुसार ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकोमा यस वर्ष झण्डै चार प्रतिशत रोपाइँ बढेको थियो ।
मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार छ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
गत वर्ष करिब ५७ लाख मेट्रिक टनसम्म धान उत्पादन भएको थियो । यस वर्ष बढी रोपाइँ हुँदा धान उत्पादन सात प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको भएपनि भित्र्याउने बेलामा खराब मौसमका कारण गत वर्षको तुलनामा घट्ने अनुमान गरिएको छ ।
आयात बढ्ने सक्ने
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी, करिब ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा आठ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ । यस वर्ष धान उत्पादन कम भएसँगै आयात पनि बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ ।
धान उत्पादनको अवस्था
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन पुगेको थियो । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।
कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव २०७९÷८० को तुलनामा शून्य दशमलव ६१ अर्थात आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्लो चार आवका औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।रासस
