काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डनका पहिरोपीडित २५ परिवारलाई जस्ता पाता वितरण गरिएको छ ।
मण्डनदेउपुर वडा नं ७ निवासी सामाजिक ब्यक्तित्व नारायण श्रेष्ठको समन्वय, सहकार्य तथा सिसिइपी फाउण्डेसन काठमाडौंको सहयोगमा पहिलो चरणमा विपद्का कारण जोखिममा बसिरहेका वडा नं १० का २५ परिवारलाई आवास निर्माणका लागि जस्ता पाता वितरण गरिएको नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले जानकारी दिनुभयो ।
अरु वडा र यसै वडाका थप पीडितहरुलाई पनि यो कार्यक्रममा समावेश गरि सुरक्षित आवास निर्माण गर्न नगरपालिका लागिरहेको उहाँले बताउनुभयो । गत असोज १० देखि १२ गतेको अविरल वर्षाका कारण यस नगरपालिकामा ७ जनाको मृत्यु भएको थियो । सयौं परिवार पीडित र विस्थापित भएका छन् । करोडौंको भौतिक संरचनामा क्षति पुगेको नगरपालिकाले जनाएको छ ।
