बनेपा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले शनिबार बनेपामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
प्रभातफेरी बनेपाको चारदोबाटो चोकबाट चाँदनीचोक हुँदै गोदामचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरी कार्यक्रममा महासंघ आबद्ध तथा काभ्रेमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुको उपस्थित थियो । कार्यक्रममा पूर्वअध्यक्षहरु भोजराज तिमल्सिना, ईश्वरी ओझा, महेश पौडेल, मोतिराम तिमल्सिना तथा संगठनका अध्यक्ष तथा पदाधिकारीहरु र महासंघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रभातफेरीपछि आयोजित सभालाई सम्बोधन गर्दै शाखा अध्यक्ष विनोद न्यौपानेले पत्रकार हत्या, धम्की तथा स्वतन्त्र प्रेसमाथि विभिन्न समयमा भएका ज्यादतीहरु रोक्न सरकारलाई अनुरोध गरे ।
प्रभातफेरीपछि नसर्ने रोगहरुको निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो । जसमा उमेरअनुसार तौल तथा हाईट, सुगर, प्रेसर, युरिनमार्फत मृगौला तथा शरीरका अन्य भागमा हुन सक्ने रोग र त्यसको संक्रमण, रोग अनुसारको स्वास्थ्य सेवा परामर्श उपलब्ध गराइएको थियो ।
शिविरका लागि जनस्वास्थ्य कार्यालय काभ्रेको प्राविधिक र जिल्ला सहकारी संघको आर्थिक सहयोग रहेको शाखाका सचिव नगेन्द्र अधिकारीले जानकारी दिए । शिविरमा संलग्न पत्रकारहरुलाई उमेर अनुसारको तौल कायम राख्न परामर्श दिइएको थियो ।
