भुम्लु । काभ्रे जिल्लाको कोशीपूर्व क्षेत्रको एक सडकखण्ड १५ वर्षपछि पक्की बनाइएको छ । विसं २०६६ मा बाटो खोलिएको भुम्लु गाउँपालिकास्थित हबेली– सापिङ–सिम्थली–बेखसिम्ले–बाफल करिब चार किलोमिटर सडक स्तरोन्नति गरी पक्की बनाइएको हो ।
ठेकेदार कम्पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि कालोपत्र सम्पन्न गरेको छ । गतवर्ष मङ्सिर ३ गते जिल्लास्थित पूर्वाधार विकास कार्यालय धुलिखेल र निर्माण व्यवसायी पिएसकेरएभरेष्ट जेभीबीच ठेक्का सम्झौता भएको थियो । आगामी मङ्सिर २ गतेसम्म ठेक्काको समयसीमा रहे पनि निर्माण कम्पनीले वैशाख पहिलो साता कालोपत्र सम्पन्न गरेको हो । उक्त सडकखण्डमा बागमती प्रदेश सरकारको नौ करोड ३२ लाख ६५ हजार ५०० मा ठेक्का सम्झौता भएको थियो ।
कम्पनीका व्यवस्थापक प्रदीप गौतमका अनुसार पहिलो चरणमा तीन हजार ८०० मिटर ‘आसफाल्ट’ सम्पन्न भएको छ । अब यही ठेक्का अन्तर्गत थप ४०० मिटर ढलान भइरहेको गौतमले बताए । यसैबीच सोही क्षेत्र अन्तर्गत अरनिको राजमार्गसँग जोडिएर दोलालघाट– फलाँटे– कोलाँती– पोखरीचौरी– गुराँसे सडकअन्तर्गत दोलालघाट– फलाँटे– कोलाँती सडकखण्डमा स्तरोन्नति भइरहेको छ ।
बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना–‘ए–एफ’ आयोजना कार्यान्वयन इकाइ भक्तपुरमार्फत साढे छ किलोमिटर सडक विस्तार भइरहेको जनाएको छ । यसमध्ये गत असोजको बाढीपहिरोले करिब डेढ किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि आयोजनाले त्यस क्षेत्रमा थप नयाँ डिजाइन गर्नुपर्ने जनाएको छ ।
एसियाली विकास बैङ्कको लगानीमा बन्धन– भगवती निर्माण कम्पनीले १२ करोड (भ्याटबाहेक) मा ठेक्का सम्झौता गरेको थियो । २०८० साल चैत १३ गते ठेक्का सम्झौता गरी दुई वर्षमा सक्ने समयसीमा छ । हालसम्म योजनाको २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *