धुलिखेल । काभ्रे जिल्लामा मात्रै नभएर देशकै उत्कृष्ट अस्पतालको रुपमा परिचित धुलिखेल अस्पतालमा ट्रमा सेन्टर निर्माण हुने भएको छ ।
नेपाल सरकार र जापान सरकारको साझेदारीमा निर्माण हुने एक सय शैयाको ट्रमा सेन्टरको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुहुने भएको हो ।
धुलिखेल अस्पतालले अरनिको राजमार्ग र विपी राजमार्गले ओगट्ने ठूलो भूभागका नागरिकलाई गम्भीर चोटपटक र आकस्मिक स्वास्थ्य समस्याको लागि उपयुक्त उपचार प्रदान गर्ने उद्देश्यले धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको अवधारणा सन् २०१४ मा सम्बन्धित निकायहरुमार्फत र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाललाई प्रस्तुत गरेको थियो । सोही प्रस्तावना अनुसार विभिन्न चरणको स्थलगत निरिक्षण, बैठक, संवाद र समन्वयपछि सन् २०२३ अक्टोबर र २०२५ मे मा नेपाल सरकार र जापान सरकारको रोहबरमा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल र अर्थ मन्त्रालयबीच ३.८७९ विलियन जापानिज ऐन लगानी बराबरको १०० शैयाको धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको निर्माणको सम्झौतामा हस्ताक्षर भएको थियो । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस परियोजनाको कार्यकारी निकाय र धुलिखेल अस्पताल कार्यान्वयन निकायको रुपमा रहने आयोजित पत्रकार सम्मेलनमा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा डा रामकण्ठ माकाजुले जानकारी दिनुभयो ।
यसैक्रममा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधीको उपस्थितिमा, अप्रिल २०२५ मा टोडा कर्पोरेशन टोकियो जापान निर्माण कार्यको लागि छनौट भई प्रारम्भिक कार्य शुभारम्भ गरिसकिएको छ । अस्पताललाई चाहिने अत्याधुनिक उपकरणहरु जस्तै सिटीस्क्यान, एमआरआई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेशिन लगायत अस्पतालका बेडहरुसहित जुन २०२७ मा हस्तान्तरण गरिने योजना रहेको छ ।
धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको सञ्चालनपछि काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर जिल्लाका साथै विपी राजमार्गले जोड्ने तराईका जिल्लाहरुका गम्भीर घाइते र आकस्मिक स्वास्थ्य उपचार तत्काल आवश्यक भएका विरामीहरुले समयमै सेवा र सुविधा पाउनेछन् भन्ने आशा र विश्वास धुलिखेल अस्पतालले लिएको छ ।
विकाशशील र विकान्सोमुख देशहरुमा सवारी दुर्घटना र यस कारणले हुन जाने जनधनको क्षति दिनानुदिन बढ्दो क्रममा रहेको तथ्यहरुले देखाउँदै आएको छ । पछिल्लो अध्ययन अनुसार २० वर्षदेखि ४० वर्ष समूहका व्यक्तिहरुको मृत्युको पहिलो कारण सवारी दुर्घटना रहेको पाइन्छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार पनि नेपालमा प्रत्येक ४ घण्टामा एक जनाको मृत्यु सवारी दुर्घटनाको कारण भइरहेको देखिन्छ । अझ विशेषगरी नेपालमा रुख, भिर, पाखाबाट लडेर हुने घाइतेहरुको संख्या पनि धेरै ठूलो छ । चोटपटकपछि घाइतेले शारीरिक र मानसिक क्षति बेहोर्नुका साथै समग्रमा राष्ट्रलाई नै अपूरणीय क्षति पुगिरहेको सन्दर्भमा धुलिखेलमा ट्रमा तथा इमरजेन्सी सेन्टरको निर्माण हुन लागेको अस्पतालका डा दिपक श्रेष्ठले जानकारी दिनुभयो । बुधबार प्रधानमन्त्रीबाट हुने शिलान्यास कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पनि उहाँले बताउनुभयो ।
विसं २०५३ सालदेखि धुलिखेल अस्पतालले आफ्नो सेवा शुरु गरेको हो । तीन दशकसम्म आइपुग्दा अस्पतालले विभिन्न सेवाहरु थप गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *