बनेपा । यस वर्ष जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औसतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ ।
उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, वागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुईतिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिमपहिरोदेखि हिमताल विष्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरुको चेतावनी छ । विज्ञहरुको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरु व्यवस्थित हिसाबले गरिरहेको बताएको छ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उपे्रतीले मनसुनी असरले पार्ने समस्या न्युनिकरणमा सरोकारवाला निकाय मात्र नभई आम नागरिकको भूमिका त्यत्तिकै महत्वपूर्ण हुने बताउनु भयो ।
हिम पहिरोदेखि हिमताल विष्फोटका घटना सँगसँगै हुने अवस्था
डा. उप्रेतीका अनुसार यस वर्षको जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र तापक्रम बढ्नेछ । ३० वर्ष यताकै धेरै वर्षा हुने उहाँको भनाइ छ । यसवर्ष देशका विभिन्न स्थानमा फरकफरक वर्षा हुनेछ । मधेस प्रदेशकै उत्तरी भागको उच्च स्थान र चुरे क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने उहाँले बताउनुभयो ।
कृषि क्षेत्रमा मनसुनी असरको समस्या न्युनिकरणमा जोड दिनुपर्छ
डा. उप्रेतीले मनसुनी वर्षा जुनरुपमा हुनुपर्ने हो सोहीरुपमा भए कृषि प्रणालीलाई पनि फाइदा पुग्ने बताउनु भयो । मनसुनको बीचमा लामो समय पानी परेन भने कृषिमा यसले नराम्रो असर पार्ने बताउँदै उहाँले यसलाई व्यवस्थित वा न्युनिकरण गर्नेतर्फ भने सरोकारवाला निकायहरुको भूमिका नै बढी महत्वपूर्ण हुने बताउनुभयो । मनसुनी असरले पार्ने समस्या न्युनिकरणमा सरोकारवाला निकाय मात्र नभई आम नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उहाँ बताउनु हुन्छ ।
यो वर्ष उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि डेङ्गु देखिन सक्छ
डा. उप्रेतीले यसवर्ष औसतभन्दा बढी पानी र औसतभन्दा बढी तापक्रम हुने देखिएकाले डेङ्गु रोग पछिल्ला वर्षहरुको भन्दा बढ्नसक्ने बताउनु भयो । औसतभन्दा बढी पानी परेर खाल्डाखुल्डीमा पानी जम्ने र पानी रोकिएसँगै बढ्ने तापक्रमका कारण ती खाल्डाखुल्डी डेङ्गु उत्पादन गर्ने उद्योगका रुपमा परिणत हुनसक्ने उहाँको बुझाइ छ । साथै यो वर्ष उच्च पहाडी तथा उच्च हिमाली क्षेत्रमा पनि डेङ्गु देखिने सम्भावना भएकाले सचेतना फैलाउनु जरुरी भएको उहाँको भनाइ छ । यो आजको मात्र समस्या नभएकाले यसप्रकारका समस्या समाधानका लागि प्रविधिमा पनि सँगसँगै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जोखिम आँकलन गरेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ
डा. उप्रेतीले उत्तरी क्षेत्रहरुमा औसतभन्दा तापक्रम र वर्षा बढी हुने भएकाले हिमाली क्षेत्रमा पनि बढी पानी परेको बताउनु भयो । जसका कारण माटो बगाएर ल्याउने, नदी थुनिने, फेरि फुट्ने र नदी थुनिँदा त्यसले ठूलो तालको रुप लिने भएकाले झनै विकराल अवस्थाको सिर्जना हुनसक्ने उहाँको भनाइ छ । त्यसकारण हिमाली भेगबाट बग्ने नदीहरु कर्णाली, कोशी, राप्ती, बबईदेखि नारायणीसम्म तटीय क्षेत्रमा उपल्लोदेखि तल्लो अवस्थासम्म जोखिमको आँकलन गरेर पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भौतिक संरचना निर्माणलाई वैज्ञानिक बनाउनुपर्छ
हरेक वर्ष हुने मनसुनी क्षति कम गर्न भौतिक संरचना र अन्य संरचना निर्माणलाई वैज्ञानिक तरिका अपनाउनुपर्नेमा डा. उप्रेतीले जोड दिनुभयो । उहाँले रोशी खोलामा हालै पुगेको क्षतिको उदाहरण दिँदै २४ घण्टामा एक सय चालिसदेखि २ सय मिलिमिटर वर्षापछि आउने बाढी ४४ मिलिलिटरमै आउनु खतराको संकेत भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष आउने मनसुनी अवस्था छ त्यो अवस्था अहिले औसतीय अवस्था हुँदा पनि बाढीपहिरो आउने सम्भावना बढी हुन्छ । अहिले चाहीँ हाम्रो जतिपनि भौतिक संरचना निर्माण र अन्य संरचनालाई वैज्ञानिक तरिकाले निर्माण नगरेको अवस्थाले गर्दा थोरै पानीमा पनि जस्तो रोशी खोलामा ४४ मिलिमिटर पानीमा त्यत्रो ठूलो बाढी आयो । भनेपछि लगभग २४ घण्टामा एक सय ४० मिलिमिटर २ सय मिलिमिटर वर्षा भएपछि आउने बाढी ४४ मिलिलिटरमै आयो भनेपछि यो खतरनाक हो । र अहिले ४४ मिलिमिटरभन्दा बढी वर्षा त हुन्छ हुन्छ सबै ठाउँमा । रोशीले जुन एक खालको अवस्था देखायो । त्यो हाम्रो लागि चुनौती हो । र त्यो चुनौती देशका धेरै भागमा हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गरेर यातायातका क्षेत्रमा सचेतना अपनाउनुपर्ने, गत वर्षको घटना ताजै छ । अन्य ठाउँमा कच्ची रोडहरुमा पहिरोले ब्लक हुने अवस्था छ । खाद्य ढुवानी गर्नुपर्ने अवस्था । १०÷१५ दिन को अवधिमा त्यो समयभन्दा अघि नै दूरदराजका गाउँहरुमा ढुवानी गरिसक्नु प¥यो ।’
पनौतीका किसानका करोडौंका कृषि उत्पादनमा क्षति
बैशाख २९ गते परेको अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले राति डाइभर्सन बगाउँदा १५ घण्टासम्म राजमार्ग अवरुद्ध भयो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन ढिला भयो । प्रहरी टोली तथा स्थानीयको पहलमा सडक सुचारु गरिएको थियो । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायीरूपमा डाइभर्सन निर्माण गरिएको थियो । पछिल्लो बाढीले त्यो पनि बगाएको छ ।
बेपत्ता महिलाको अवस्था अज्ञात
यसैबीच, बैशाख २९ गते दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता पनौती ढलमलेकी एक महिलाको अबस्था अझै अज्ञात छ । सोही दिन साँझ ६ बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा स्थानीय ३३ वर्षीया रेणुका गिरी बेपत्ता भएकी थिइन् । मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो । कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि हालसम्म उनको अवस्था अज्ञात छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली र तालिम प्राप्त कुकुर परिचालित गरी खोजीकार्य गरिएको प्रनाउ घलेले बताए ।
किसानको करोडौंको क्षति
वैशाख २९ को वर्षाले पनौती बसपार्क आसपासका धेरै क्षेत्र डुबानमा परेको छ । यस्तै आलु र गोलभेंडा लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ । किसानहरुले थन्क्याउने बेला भएको आलु पनि खन्न पाएनन् । पनौती–८ खरिबोटका किसानका करिब पाँच सय वटा टनेलमा पानीले डुबेपछि गोलभेंडा मर्न लागेका छन् । एउटा टनेलमा करिब ४० हजार खर्च हुन्छ । यसरी हेर्दा यहाँ कति क्षति भयो भन्ने अहिले नै यकिन गर्न नसकिने अवस्था छ ।
स्थानीय किसान जगन्नाथ आचार्यका अनुसार यहाँ पहिले पनि बाढी आउँथ्यो तर यति धेरै क्षति गरेको थिएन । यस भेगमा धेरै माथिदेखि पानीको निकास आउने तर त्यसलाई व्यवस्थित गर्न नसक्दा अहिले बाढीले धेरै क्षति गरेको हो । यहाँ व्यवस्थित कूलो नबनाएसम्म सधैं यस्तै समस्या हुने उनको भनाइ छ । यहाँका अधिकांश किसानहरु बाढीले पुर्याएको क्षतिपूर्ति पाउनु पर्ने माग गर्छन् ।
स्थानीय किसान महेश्वर बञ्जाराका अनुसार यहाँ यति नै क्षति भएको भन्ने अनुमान गर्न सकिने अवस्था छैन । वर्षायाम शुरु हुँदै गर्दा यति धेरै क्षति भइसकेको अवस्थामा आगामी दिनमा थप क्षति हुने उहाँले बताउनुभयो । यस सम्बन्धमा नगरप्रमुख रामशरण भण्डारीले अहिले पालिकाले यहाँको क्षति मूल्यांकन कार्य गरिरहेको र क्षतिको अन्तिम तथ्यांक आएपछि पीडित किसानलाई राहत उपलब्ध गराइने बताउनुभयो ।
यसरी विज्ञहरुले पूर्वअनुमान गरिरहँदा सरकारले भने यसमा खासै चासो देखाएको देखिँदैन । विगतमा पनि यसरी नै पूर्वअनुमान गरिएको थियो । विज्ञहरुले भने अनुसार नै मिलेको पनि हो । तर सरकार भने काम गरिरहेको भन्दै मौन जस्तै रहन्छ । त्यसैले नसोचेको क्षति बेहोर्नु पर्ने अवस्था आएको छ ।
