पनौती । सशस्त्र प्रहरी बल नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेले पनौती नगरपालिकाको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई विपद स्वयंसेवक आधारभूत तालिम र विपद् सूचकसम्वन्धी तालिम प्रदान गरेको छ ।
तालिमको शुभारम्भ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरेका थिए । कार्यक्रममा ढकालले हरेक नागरिक विपदसँग परिचित हुनु पर्ने बताए । उनले विपदपछिका अवस्था, विपद आउनुअघिको अवस्थाको सचेतनाका साथै विपदले पु¥याउने असर न्यूनिकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताए । तत्कालै प्रहरी र सेना पुग्न नसक्ने स्थानमा स्थानीयस्तरमा वडामा रहेका स्वंयसेवकहरुले विपदपछिको अवस्थामा समन्वयात्मक भूमिकाको कार्य गर्न सक्ने उनले बताए ।
पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा असोज १० देखि १२ पछिको विपदले सिकाएको पाठ, भूकम्प तथा चट्याङ्ग र बैशाखमा परेको केही क्षणको वर्षाका कारण पु¥याएको क्षतिपछिको अवस्थाका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल पाँचखालका प्रमुख एसपी प्रेम प्रसाईंले तालिमका बारेमा जानकारी गराउँदै यसले विपदपछिको अवस्थालाई पुग्ने सहजताका बारेमा जानकारी गराएका थिए । तीन दिनसम्म चलेको तालिममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोग रहेको थियो । सशस्त्र प्रहरी काभ्रेले जिल्लाका १३ वटै पालिकामा स्वंसेवकसम्वन्धी तालिम प्रदान गर्ने तयारी गरेको एसपी प्रसार्इंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *