काभ्रे । पनौती नगरपालिका वडा नम्बर ८ बालमैत्री वडा घोषणा भएको चार वर्ष पूरा भएको छ । यस अवसरमा बुधबार भालेश्वर उच्च माविमा आयोजित एक कार्यक्रममा वडाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मान र छात्रवृत्ती प्रदान गरिएको छ ।

पनौती नगरपालिका वडा नम्बर ८ मा बालमैत्री स्थानीय शासन अभियान अन्तर्गत बालमैत्री वडा घोषणाको चौथो वार्षिक उत्सव समारोहका प्रमुख अतिथी नगरप्रमुख रामशरण भण्डारी हुनुहुन्थ्यो । यस्तै विशेष अतिथी गीता बञ्जारा हुनुभएको कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष वेदप्रसाद बञ्जाराले अध्यक्षता गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भण्डारीले यस अभियानमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उपप्रमुख बञ्जाराले बालबालिकामा लगानी गर्न सकिए मात्र यसको नतिजा राम्रो आउने बताउनुभयो । नगरले निःशुल्क शिक्षा लागू गरेको उल्लेख गर्दै उहाँले पनौती देशकै दोस्रो बालमैत्री नगर भएको जानकारी दिनुभयो ।

विभिन्न सांस्कृतिक कार्यक्रमले समारोह थप रोचक बनेको थियो । कार्यक्रमका सभापति वेदप्रसाद बञ्जाराले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गर्नुभयो । कार्यक्रम वडा नम्बर ८ कि सहजकर्ता गीता थापाले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा नगरकार्यपालिका सदस्यहरु, वडासदस्यहरू, विद्यालयहरुका प्रधानाध्यापकहरु, स्वास्थ्य शाखाका प्रमुखहरु, बालमैत्री सम्पर्क शिक्षकहरु, पत्रकारहरु, सिबिन नेपाल, बाल संजालका सदस्यहरू, बालमैत्री वडा समिती तथा बाल अधिकार वडा समितिका सदस्यहरू, कर्मचारीहरूको उपस्थती रहेको थियो । कार्यक्रममा १५ जना विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराई सहयोग पुर्याएकोमा सिविन नेपालप्रति आभार व्यक्त गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *