ज्ञानमणि नेपाल कालोटोपी

बनेपा । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणमा बनेपा नगरपालिका वागमती प्रदेशमै पहिलो भएको छ ।
बनेपामा आयोजित एक कार्यक्रमका बीच यसको जानकारी दिइएको हो । विभिन्न एक सय वटा सूचक पूरा गरेपछि लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा बनेपा वागमती प्रदेशमै पहिलो नगरपालिका भएको हो । यसको नतिजा सार्वजनिक गर्दै लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सहजकर्ता नवीनचन्द्र घिमिरेले बनेपा नगरले यसमा ९८ प्रतिशत सफलता पाएको जानकारी दिनुभयो ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ६८.५ प्रतिशत नतिजा पाएको बनेपाले क्रमशः सुधार गर्दै ०७८/०७९ मा ७६ प्रतिशत, ०७९/०८० मा ८८.५ प्रतिशत र ०८०/०८१ मा ९८ प्रतिशत सफलता पाएको हो । यसमा विभिन्न ५ वटा शीर्षकहरुमा कामहरु भएका थिए । जस अन्तर्गत नगरपालिकाले नीति कानुन र योजना कार्यान्वयनमा २० पूर्णाङ्कमा २० नै अंक पाएको छ । यस्तै संस्थागत व्यवस्था अन्तर्गतमा पनि २० मा २० नै अंक आएको छ भने मानव संसाधन तथा क्षमता विकासमा २० पूर्णाङ्कमा १८.५ अंक पाएको छ । यसैगरि सेवा प्रवाहमा २० मा १९.५ र सुशासन तथा उत्तरदायित्वमा २० पूर्णाङ्कमा २० नै अंक पाएको छ । यसरी समग्रमा नगरपालिकाको ९८ प्रतिशत नतिजा आएको हो ।

यसप्रकारको नतिजा आएकोप्रति बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले खुशी प्रकट गर्दै यसले बनेपाको काम गराइ सन्तोषजनक रहेको बताउनुभयो । उहाँले यसमा खटिने र सेवा प्रवाहमा काम गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा बनेपाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले यस नतिजालाई कमजोर नबनाउने गरि आगामी दिनमा पनि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसमा आफ्नोतर्फबाट सक्ने सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रम बनेपा नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको थियो । २ दिनसम्म संचालित कार्यक्रमको दोस्रो दिन नतिजा सार्वजनिक गर्न सार्वजनिक सुनुवाइ पनि गरियो । जसमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरु, बनेपा नगरपालिकाका सबै वडाका वडाध्यक्षहरु तथा अन्य जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *