बनेपा । जापान रेडक्रस सोसाइटी चिवा शाखाले सो शाखाअन्तर्गत रहेका जुनियर तथा युवा स्वयंसेवीहरुलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको जुनियर विभागसँग समन्वय गरी काभ्रे जिल्ला शाखाका अन्तर्गत रहेका जुनियर सर्कलहरुसँग दुई दिने अन्तरक्रिया सम्पन्न गरेको छ ।
पनौती नगरपालिका ९ को शारदा मा.वि., सुन्थान र एस.ओ.एस. हर्मन माइनर विद्यालय, श्रीखण्डपुरमा जापान रेडक्रस चिवा शाखाका जुनियर समितिका संयोजक मेगुमी इचिबागासे, २ जना शिक्षक नायक, १ जना नर्स र ८ जना जुनियर तथा युवा स्वयम् सेवकहरुका साथै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलयका जुनियर विभागका अधिकृतहरु सुमिरा न्यौपाने, राम श्रेष्ठ र काभ्रे जिल्ला शाखाका जुनियर तथा युवा समितिका संयोजक तथा उपसभापति पुष्पा खड्का बस्नेत सहितको सहभागितामा २ दिने स्थलगत भ्रमण सम्पन्न गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेका उपमन्त्री प्रदीप केसीले जानकारी दिनुभयो ।
त्यसैगरी जापानमा र नेपालमा भएका सर्कलका गतिविधिहरु, अनुभवहरु र सांस्कृतिक गतिविधिहरुको आदान प्रदान गरिनुको साथै भ्रमण समूहलाई काभ्रे जिल्ला शाखाका सभापति देवेन्द्रप्रसाद भैल, जिल्ला शाखा मन्त्री राजु सिग्देल, जिल्ला कार्यसमितिका पदाधिकारी, कर्मचारीहरु लगायतले जिल्ला शाखामा रहेको ब्लडबैंकको समेत अवलोकन गराएको थियो ।
