पनौती । रोटरी क्लब अफ पनौतीले रोटरी वर्ष २०२५÷२६ का लागि गठित नयाँ कार्यसमितिका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ‘३२९२’ नेपाल–भुटानका पूर्व डिष्ट्रिक्ट गर्भनर दिलेन्द्रराज श्रेष्ठ, पनौती नगर प्रमुख एवं सो क्लबका मानार्थ सदस्य रामशरण भण्डारी, असिस्टेन्ट डिष्ट्रिक्ट गर्भनर रामप्यारी बज्राचार्य, निवर्तमान असिस्टेन्ट डिष्ट्रिक्ट गर्भनर भुवनसिंह कुँवर लगायतको समुपस्थितिमा कार्यसमितिको १० औं पदस्थापन गरिएको हो ।
समितिको अध्यक्षमा यतिराज अधिकारी, सचिवमा ई. बिनोद बजगाँई, मणिप्रसाद सापकोटा निवर्तमान अध्यक्ष तथा डाइरेक्टर– क्लब एड्मिन, राजेशसुन्दर सैंजु (प्रेसिडेन्ट इलेक्ट), सुबेश ताम्राकार (प्रेसिडेन्ट नोमिनी), कृष्णप्रसाद सैंजू (उपाध्यक्ष), मधुसुधन गुरागाईं (कोषाध्यक्ष तथा डाइरेक्टर–इन्भाइरोमेन्ट), डा. गणेश बञ्जारा (सर्जेन्ट एट आम्र्स), तथा डाइरेक्टरहरुमा डा. नारायणचरण श्रेष्ठ (मेम्बरसिप), प्रा.डा. सुमनराज ताम्राकार (पब्लिक ईमेज), दिपा स्याङतान (सर्भिस प्रोजेक्ट), ई. सितु सैंजु (दी रोटरी फाउण्डेशन) तथा इन्द्रमणि तिमल्सिना (युथ सर्भिस) रहेका छन् ।
कार्यक्रममा रोटरी वर्ष २०२४–२५ का अध्यक्ष मणिप्रसाद सापकोटाले आफ्नो कार्यकालमा पोलियो नियन्त्रण सचेतना, रेविज विरुद्धको खोप अभियान, विश्व स्कूल दूध दिवसका साथै गत असोज १० देखि १२ गतेसम्मको बाढी र पहिरोको कारण सिर्जित विपदको समयमा जिल्लाका अन्य रोटरी क्लबहरुसँग मिलेर काम गरेको प्रगति विवरण प्रस्तुत गरे । यस्तै, रोटरी वर्ष २०२५–२६ का अध्यक्ष यतिराज अधिकारीले आगामी वर्ष रोटरी इन्टरनेशनलले तोकेका क्षेत्रगत कार्यहरुका साथै अन्य क्लवहरुसँगको सहकार्यमा सर्भिस प्रोजेक्टका साथै आवश्यकताअनुसार प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
सोही अवसर पारेर रोटरी क्लब पनौतीका संस्थापक अध्यक्ष एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका प्रा.डा.सुमनराज ताम्राकारले स्वर्गवासी आमा–बुबाको स्मरणमा स्थापना गरेको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ वरिष्ठ पत्रकार मधुसुधन गुरागाईं र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ केयु स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा. मनोज हुमागाईंलाई प्रदान गरिएको छ । क्लबको नवौं स्थापना दिवस (चार्टर डे) कै अवसरमा ती पुरस्कार घोषणा गरिएको थियो ।
काभ्रेका वा काभ्रेलाई कर्मथलो बनाई उम्दा काम गर्ने सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई दिईने गरी पुरस्कार स्थापना गरिएको हो । सम्मानित हुने व्यक्ति वा संस्थाको छनौटका लागि क्लब अध्यक्षसहितको तीनरतीन सदस्यीय अलग–अलग समिति बनाई निर्णय गरिएको थियो । यस अघि ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ बाट काभ्रे टाइम्स साप्ताहिक र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट केयु स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्रप्रसाद कोजू सम्मानित भइसकेका छन् ।
यसै गरी, सेवा निवृत्त पशु चिकित्सक एवं रोटरी क्लब अफ पनौतीका अध्यक्ष मणिप्रसाद सापकोटाले आफ्ना माता–पिताको स्मरणमा काभ्रेपलाञ्चोक जिल्लाभरमा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पशु चिकित्सक वा प्राविधिकमध्येबाट एक जना र पनौती नगरपालिकाभरमा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पशु चिकित्सक वा प्राविधिकमध्येबाट एक जनालाई सम्मान गर्ने अभियान सुरु गरेका छन् ।
सापकोटाले स्थापना गरेका द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट यस वर्ष दुई जना कृत्रिम गर्भाधानकर्ता (पशु स्वास्थ्य प्राविधिक) हरु पुरस्कृत भएका छन् । पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लाभरमा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पशु चिकित्सक वा प्राविधिकमध्येबाट एक जना र पनौती नगरपालिकाभरमा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पशु चिकित्सक वा प्राविधिकमध्येबाट एक जनालाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
रोटरी क्लब अफ पनौतीको १० औं पदस्थापना कार्यक्रममा कृत्रिम गर्भाधानकर्ताद्वय गोविन्द तिमल्सिना र सुबदेव दाहाललाई सम्मान सहित नगद पुरस्कार प्रदान गरिएको हो । पशु सेवा कार्यालयमा उपलब्ध अभिलेख अनुसार २ हजार ५० गाई र २७० भैंसीमा कृत्रिम गर्भाधानबाट गुणस्तरिय पशु प्रजनन सेवा प्रदान गरी तिमल्सिना जिल्ला प्रथम भएका हुन् । यसै गरी, पनौती नगरपालिका भित्र ९५० गाई र ३९० भैंसीमा कृत्रिम गर्भाधान सेवाबाट गुणस्तरिय पशु प्रजनन सेवा दिए बापत दाहाल पनौती नगरमा प्रथम भएका हुन् । जिल्लामा हाल सबै खाले पशुमा कृत्रिम गर्भाधानको संख्या ३८ हजारको हाराहारीमा रहेको बताइन्छ ।
पुरस्कृत दुबै कृत्रिम गर्भाधानकर्तालाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर दिलेन्द्रराज श्रेष्ठ, पनौती नगर प्रमुख रामाशरण भण्डारी र पुरस्कार स्थापनाकर्ता मणिप्रसाद सापकोटाले नगदसहित सम्मानपत्र र दोसल्ला प्रदान गरेका हुन् । सो सम्मानले कृत्रिम गर्भाधान कार्यमा संलग्न पशु चिकित्सक वा प्राविधिकहरुलाई हौसला मिल्ने सापकोटाको भनाई छ, ‘हाल जिल्लामा भईरहेको ३८ हजारको संख्याको पशु प्रजनन दर बढेर आउने बर्ष ४० हजार पुग्ने र नश्ल सुधार हुने अपेक्षा रहेको छ । यस्तै, नश्ल सुधार हुँदा जिल्लामा हाल दैनिक उत्पादन हुने दूध साढे ४ बाट बढेर ६ लाख लिटर पुग्ने अनुमान गरिएको छ’, उनले थपे ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ‘३२९२’ नेपाल–भुटानका पूर्व डिष्ट्रिक्ट गर्भनर दिलेन्द्रराज श्रेष्ठले आफ्नो कार्यकालमा देखिने, स्मरणीय र प्रभावकारी एक कार्यक्रम गर्न कार्यसमितिलाई अनुरोध गरे । पनौती नगर प्रमुख रामशरण भण्डारीले विगतमाझैं रोटरी क्लब अफ पनौतीसँग सामुदायिक कार्यहरुमा सहकार्य गर्न नगरपालिका तयार रहेको बताए । यस्तै, निवर्तमान असिस्टेन्ट डिष्ट्रिक्ट गर्भनर भुवनसिंह कुँवरले क्लबले वर्ष २०२४÷२५ मा उल्लेख्य कार्यहरु गरेकोमा प्रंशसा गरे ।
सो क्लबबाट रोटरी वर्ष २०२५–२६ का लागि असिस्टेन्ट गभर्नर मनोनित हुनु भएका पूर्व अध्यक्ष ई. सितु सैंजु र डिष्ट्रिक्ट रोड सेफ्टी कमिटिको सह–अध्यक्ष मनोनयन हुनु भएकोमा अर्का पूर्व अध्यक्ष मधुसुधन गुरागाईंलाई बधाई दिइएको थियो । कार्यक्रमकै अवसरमा हिमालय डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टरको उत्पादन ‘दर्शन’ ब्राण्डको मोही प्रवद्र्धन गरिएको थियो ।
